
अमेरिकी विदेशमन्त्री जोन केरी औपचारिक भ्रमणका लागि शुक्रबार छिमेकी देश क्युवा जाँदै छन्। संयुक्त राज्य अमेरिका र क्युवाको नयाँ सम्बन्ध विस्तारको प्रक्रिया सुरु भएको र सोही प्रक्रियाअनुरुप नै क्युवाको राजधानी हवानामा स्थापना गर्न लागिएको नयाँ राजदूतावासको झण्डोत्तलन पनि गरिने कार्यक्रम रहेको छ। सो झण्डोत्तलनका लागि केरी हवाना जान लागेका हुन्। यस घटनालाई यी दुई देशबीचको सम्बन्ध पुनःस्थापनाको सांकेतिक रुपमा लिइएको छ। यी दुई देशबीच सन् १९६१ को जनवरी ३ देखि सम्बन्धमा दरार उत्पन्न भएको छ । शीतयुद्धका कारण छुट्टिएका यी दुई देशको सम्बन्धमा यस पटक पुनःस्थापना गर्ने प्रयत्न भएको हो। सन् १९४५ पछि यो पहिलो पटक अमेरिकी विदेशमन्त्रीले क्युवाको भ्रमण गर्न लागेका हुन्। उनको सो भ्रमणका क्रममा क्युवा सरकारले विशेष सम्मान प्रदान गर्ने बताइएको छ। भ्रमणमा अमेरिकाका कयौँ उच्चस्तरीय अधिकारी पनि रहेका छन् । आधा शताब्दीभन्दा लामो समयपछि यी देशले पहिलो पटक यो झण्डोत्तलन गर्दैछन् । अमेरिकी विदेशमन्त्रालयको वेभसाइटमा राखिएको एक भिडियो क्लिपमा एकजना ७८ वर्षीय अमेरिकी नागरिक जिम ट्रयासीले भनेका छन्– मलाई हवानामा रहेको अमेरिकी दूतावासमा अमेरिकी झण्डा उठाइएको दृश्य हेर्न निकै हतार भएको छ । त्यस समारोहपछि केरीले क्युबाका उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । साथै उनले हवानाको क्याथोलिक चर्चका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्। तर क्युवाका राष्ट्रपति राहुल क्यास्त्रो र उनका दाजु फिडेल क्यास्त्रोसँग भने विदेशमन्त्री केरीको भेटघाटको कार्यक्रम भने रहेको छैन ।

Post a Comment