सविता श्रेष्ठ
एकैनासको बाटो । पहिलो पटक पुग्ने मात्र होईन, धेरै स्थानीय पनि झुक्किन्छन् । पदमपुर गाविसको एक ठाउँबाट अर्को ठाउँमा पुग्नलाई बाटोले धेरै झुक्याउँछ । ‘सारेको बस्ती, बाटो उस्तै छ, त्यसैले झुक्किइन्छ’ आफू वा अरु कोही झुक्किएको थाहा पाउनेले यस्तै भन्छन् ।
पदमपुरका प्रेम तामाङको परिवार ज्याला, मजदुरी गरेर चल्ने गरेको छ । केराखेतीमा पकेट क्षेत्र बन्दै गएको पदमपुरमा उनी केरा खेतीको लागि ज्याला, मजदुरीको काम गर्छन् । मजदुरीको खोजीका क्रममा २०३९ सालमा तामाङ धादिङबाट पदमपुर पुगेका थिए । त्यसपछि उनको परिवार नै पदमपुरमा बसाई आएको थियो । अहिले ३ कठ्ठा जमिनको खेती र ज्याला मजदुरीले नै उनको परिवार चलेको छ । उनी ज्याला मजदुरी, ऊनबाट धागो बनाउने काम गर्छन् । पुरानो पदमपुरको बसाईलाई उनी यसरी सम्झिन्छन्, ‘जनावर, खोलाको डर थियो । बिरामी भएपछि त मध्यरातमा त डुङ्गा खोजेर ल्याउन पनि नसक्ने ।’
राप्ती नदीको डुबान, कटान, बाढी र वन्यजन्तुको जोखिममा रहेको चितवनको पदमपुर गाविसलाई पदमपुर स्थानान्तरण आयोगको निर्माण गरी २०५१ सालदेखि २०६३ सालसम्ममा स्थानान्तरण गरिएको हो । पटकपटक गरेर २ हजार २ सय ८१ घरधुरीलाई अहिलेको ठाउँमा सारिएको हो । पुरानो पदमपुरमा हेल्थपोष्ट सुविधा भएपनि उपचारको समस्या थियो । बाढी आउँदा जीविकोपार्जन असहज बन्ने गरेको जयचन्द्रको उनको अनुभव छ । भन्छन्, ‘राप्तीमा बाढी आउँदा केही अप्रिय घटना भयो भने मानिसलाई कुरेर मर्न दिनुपथ्र्यो । उपचार थिएन ।’
एकातर्फ राप्ती नदी र तीनतर्फ चितवन निकुञ्ज रहेको गाविसको क्षेत्रफल ३ हजार ९ सय ३९ बिगाहा रहेको थियो । १ हजार ६ सय बिगाहा क्षेत्रफल रहेको ठाउँमा गाविसलाई स्थानान्तरण गरिएको हो । पदमपुरमा अहिले ३ हजार ६ सय ८९ घरधुरी रहेका छन् । केराखेतीको पकेट क्षेत्र बनेको पदमपुरबासीको जीविकोपार्जनको स्रोत ज्याला, मजदुरी बनेको छ । खेतीपाती गर्ने अनि ज्याला मजदुरीका लागि भरतपुर र रत्ननगर जाने गर्दछन् पदमपुरवासी ।
गाविस स्थानान्तरणपछि पदमपुर क्षेत्र भरतपुरबाट नजिक बनेको छ । राम्रो खेतीबाली हुने ठाउँ र शितल हावापानी छोड्नुपर्दा दुःख लाग्ने गरेको ८० वर्षीय हठुराम चौधरी बताउँछन् । बर्षात् र बाढीले खेतीपानी नष्ट गर्नुका साथै जमिन कटान गर्ने अनि घरभित्रै पानी पसेर जीवन कष्टकर बन्ने गरेको सम्झिदाँ भने उनलाई अहिलेकै ठाउँ ठीक लाग्छ । २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनेपछि पुरानो पदमपुरमा जीविकोपार्जन असहज बनेको हठुराम बताउँछन् । वनजंगलको साग, तरकारी, खोला तथा तालको माछा, घोंगी खान नपाएको उनी सम्झिन्छन् । अहिले खेतीपाती गर्न र खानकै लागि पनि पानीको समस्या भएको उनले बताए ।
थारु जातिको बाहुल्यता रहेको गाविस स्थानान्तरण गरेपछि अहिले अरु जातिको मानिसहरुको पनि गाविसमा बसाई सरेर आउने क्रम बढेको छ । बस्ती स्थानान्तरण गरिएपछि संस्कृति र पम्पम्परा हराउँदै जान थालेको पूर्वगाविस अध्यक्ष समेत रहेका हठुराम बताउँछन् । पुरानो पदमपुरमा थारुको बाक्लो र परम्परागत बस्ती रहेको थियो । अहिले आधुनिक र मिश्रित बस्ती बनेको उनले सुनाए ।
बैशाखको १२ र २९ गते गएको भुकम्पपछि बस्तीको सुरक्षाको सवाल उठेको छ । जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढेका छन् । पछिल्लो समयमा भूकम्पका कारण जिल्लामा बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँहरु पनि छन् । लोथर गाविसको ११ घरधुरी रहेको एसिकाई बस्तीे, सँगैको आठ घर रहेको दलित बस्ती, काउले ९ गुचिवाङका २४ परिवार, दारेचोक गाविस ९ नम्बरस्थित धुषा गाउँका २७ घरपरिवार उचित बासस्थानको लागि तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । जसलाई अनिवार्य स्थानान्तरण गर्नुपर्ने जिल्लाको दैवी प्रकोप उद्धार समितिले ठहर गरिसकेको छ ।
यसका लागि पुरै गाविस नै स्थानान्तरण गरिएको पदमपुरको अनुभवबाट पनि सिक्नुपर्दछ । पदमपुर गाविसमा खानेपानी र सिँचाईको समस्या रहेको छ । मोबाईल फोनबाहेकको सञ्चार र ढल निकासको व्यवस्था हुन सकेको छैन । बस्ती स्थानान्तरण गर्दा विद्यालय, खानेपानी, सिँचाई, सञ्चार, ढल निकास, विद्युतीकरण लगायतको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने पदमपुर गाविसका सहायक लेखापाल धर्मप्रसाद सापकोटा बताउँछन् । जसले गर्दा बस्तीलाई शहरीकरण गर्न पनि सजिलो हुन्छ । बस्ती स्थानान्तरण गर्दा पूर्वाधारहरु निर्माणमा ध्यान दिनुका साथै संस्कृति र परम्परा संरक्षणमा पनि जोड दिनु आवश्यक छ । भूकम्पबाट प्रभावित बस्ती स्थानान्तरणमा यी कुरामा ध्यान जान आवश्यक छ ।
From: Paradarshi Daily
Post a Comment