Home » » दुई तिहाइले भरिदियो मुस्कान

दुई तिहाइले भरिदियो मुस्कान

Written By Rijan KC on Monday, November 9, 2015 | 6:43 PM

म्यानमार- म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले सोमबार आङ साङ सु ची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीबाट पराजित भएको स्वीकार गरेको छ। युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन्। आइतबार भएको निर्वाचनमा सोमबार बिहानैदेखि गणना गरिएको थियो। यांगुन क्षेत्रको पूरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन्। सन् २०११ को निर्वाचनमा सैन्य प्रवर्द्धित पार्टी युएसडिपी र अन्य सहभागी भए पनि सु ची नेतृत्वको पार्टीले सो निर्वाचन बहिष्कार गरेको थियो। 
विदेशी लगानी भिœयाउन राजनीतिक र आर्थिक सुधारका कार्यक्रम क्रमशः लागू गर्ने नीति राष्ट्रपति थिएन सिनले लिएपछि यो निर्वाचन सम्भव भएको थियो। निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना बढेको एनएलडीले जनाएको छ। सरकार बनाउन दुई तिहाइ सांसद चुनिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोको बाटोमा एनएलडी रहेको समाचारमा जनाइएको छ। 'यो परिणामलाई सत्ताधारी पार्टीले नरुचाए पनि स्वीकार गर्नुको विकल्प छैन,' एनएलडीका प्रवक्ता विन तेइनले भने। उनले ९० प्रतिशतभन्दा बढी सिटमा जित्ने आँकलन गरेको समेत जनाए। यसअघि एनएलडीकी अध्यक्ष सु ची पार्टी कार्यालय गई आधिकारिक परिणाम घोषणा नहुञ्जेल धैर्य गर्न आफ्ना समर्थकलाई आग्रह गरेकी थिइन्। 'परिणामलाई लिएर म ज्यादै उत्साही र खुसी छु,' यांगुनमा व्यापार गरिरहेका निन सी (६०) ले भने, 'जनता ५० वर्षदेखि पीडित छन्। मलाई विश्वास छ, सु चीले देशलाई गजबले अघि बढाउनेछिन्।' सन् १९६० को दशकमा सैन्य 'कू' पछि प्रजातन्त्रिक सरकार बन्ने अवस्था समाप्त भएको थियो। सु चीले १९९० मा भएको निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट ल्याए पनि सैन्य सरकारले मान्यता दिएन। पूर्वसैन्य तथा अर्द्धसैन्य बलका अधिकारी सम्मिलित सत्ताधारी पार्टी युएसडिपीले भने यसपालिको निर्वाचनलाई स्वीकार र सम्मान गर्ने घोषणा गरिसकेको छ। यद्यपि यो चुनावपछि सु चीले युएसडिपीलाई कसरी समेटेर लैजान्छिन् भन्नेमा सरकारको भविष्य निश्चित हुने केहीको आँकलन छ। 

 २५ प्रतिशत संसद सिटमा सेना प्रमुखले गृह, रक्षा र सीमा सुरक्षाजस्ता शक्तिशाली मन्त्री छान्ने व्यवस्था संविधानले दिएको छ। यस हिसाबले सुचीले कसरी शक्ति सन्तुलन मिलाउँछिन् भन्ने अझै प्रष्ट हुन बाँकी छ। एनएलडीले बहुमत सिट जिते पनि उनी राष्ट्रपति हुनबाट संवैधानिक बन्देज भने छँदैछ। उनले निर्वाचन परिणामअघि नै आफू महत्वपूर्ण पदमा हुने जानकारी दिएकी थिइन्। यो चुनावमा सैन्य प्रवर्द्धित पार्टीका कैयौँ मुख्य नेताका सिट सुरक्षित नरहको समाचारमा जनाइएको छ। स्वयं सत्ताधारी पार्टीका अध्यक्ष ते ऊ इरावदी क्षेत्रमा पराजित भएका छन्। अधिकांश ठाउँमा चुनाव शान्तिपूर्ण भएको थियो। मुस्लिम अल्पसंख्यकलाई चुनावमा भाग लिनबाट रोकिएको थियो। कतिपय ठाउँमा निर्वाचन अवलोकनकर्ताहरुलाई पर्यवेक्षण गर्न नदिइएको मुद्दा एनएलडीले उठाएको थियो। ७ सय ३३ प्रतिनिधि सभा र ८ सय ८६ राष्ट्रिय सभा सदस्यका लागि ३ करोड मतदाताले मत हालेका थिए। चुनावमा ९१ राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार ३ सय ४८ प्रत्यासी उठेका थिए। देशबाहिर रहेका ४० लाखभन्दा बढी बर्मेलीहरुले मत हाल्न पाएनन्।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC