होमनाथ सापकोटा रत्ननगर ।

संरक्षण नेपालले रत्ननगरमा कार्यालय स्थापना गरेर पहिलो चरणमा चुरे र कयर खोलाको महत्वको बारेमा बुझाउन जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरेको कार्यक्रम संयोजक रमेशकुमार शाहीले जानकारी दिए । संस्थाले कयर खोला नियन्त्रण, वृक्षरोपण तथा स्थानीयको जीविकोपार्जनका कार्यक्रममा सहयोगीको भूमिकाको रुपमा काम गर्न विद्यालय तथा समुदाय स्तरीय चुरे संरक्षण क्लब पनि गठन गरिएको छ । तटीय क्षेत्रमा २५ क्लब गठन गर्ने योजना रहेको र अहिलेसम्म १० वटा क्लब गठन भइसकेको शाहीले जानकारी दिए । कयर खोलाबाट प्रभावितहरुलाई संरक्षण गर्न खोलामा तटबन्धन, बगरमा वृक्षरोपण र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका बासिन्दालाई चुरे संरक्षणमा जागरुक बनाइने कार्यक्रम संयोजक शाहीले बताए । पहिलो चरणको चेतना मुलक कार्यक्रम गरिसकेपछि जीविकोपार्जनको लागि तरकारी खेती, माछापालन, रेशम खेती र पशुपालनका लागि गोठ सुधारका कार्यक्रम गरिने उनले बताए । कयर खोलाले बगर बनेका निजी जग्गामा घाँसखेती र घाँसको रुपमा उपयोग गर्न सकिने बिरुवाहरु लगाएर घाँसको स्रोत बनाएर पशुपालनमा समेत सघाउने कार्यक्रम रहेको शाहीले बताए । त्यसो गरियो भने स्थानीय समुदायले बाख्रापालन गरेर पनि जीविकोपार्जन गर्न सक्ने उनले बताए । ‘चुरेसँग आश्रित समुदायलाई आयआर्जन मार्फत गरिबी हटाउने हाम्रो योजना हो’ उनले भने, ‘यो निरन्तर चलिरहन्छ । गरिबीकै कारणले यस क्षेत्रका बासिन्दाहरु चुरेसँग आश्रित रहेको पाइयो ।’ परिवारलाई आयआर्जन र युवाहरुलाई सीपमुलक कार्यक्रम सञ्चालन गरिने शाहीले जानकारी दिए । वर्षाको समयमा कयर खोला पसेर खाद्यवाली सखाप पार्ने, घर बगाउने, भत्काउने गरेको छ । संस्थाले कयर खोला प्रभावित क्षेत्रमा तटबन्धन गर्ने कार्यक्रम रहेको शाहीले बताए । ‘जीविकोपार्जनसँगै स्थानीयको निजी जग्गा जोगाउन पनि हाम्रो कार्यक्रम लक्षित रहेको छ’ उनले भने, ‘त्यसका लागि वृक्षरोपणसहित आवश्यक पर्ने सबै काम गरिनेछ । शक्तिखोरमा रहेको चुनखानी उद्योगका कारणले त्यस क्षेत्रका स्थानीयहरुले दुषित पानी प्रयोग गरिरहेको भन्दै कार्यक्रम संयोजक शाहीले धमिलो पानी प्रयोग गर्नुपर्ने समस्याको निराकरणको बारेमा पनि केही हल निकालिने बताए । कार्यक्रमबाट सिद्धि, शक्तिखोर, पिठुवा, चैनपुर, खैरहनी र रत्ननगरमा बासिन्दा लाभाम्वित हुने छन् ।
From: Chitwan Post
Post a Comment