
संविधानसभा बैठक सुरु हुनुअघि मुख्य तीन दलले असन्तुष्ट दलसँग वार्ताको लागि पहल थालेका छन् । आज बिहान साढे ११ बजे संविधानसभा बैठकअघि मधेसी मोर्चा लगायतका दलसँग वार्ताको प्रयास भैरहेको नेताहरुले बताएका छन् । आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन संविधानसभामा स्थगित संविधान निर्माण प्रक्रिया सुरु हुन लागेको छ । संविधानसभा सचिवालयले संविधान विधेयकलाई मतदानमा लैजाने अन्तिम तयारी गरेको छ । प्रक्रिया गएको शुक्रबार नै सुरु गर्ने तयारी भएपनि आन्दोलनरत दललाई वार्तामा ल्याउनको लागि तीन दलको निर्णय अनुसार आजसम्म स्थगित गरिएको थियो । तर हिजो दिनभर तीन दलका नेताहरुले प्रयास गरेपनि असन्तुष्ट मधेसी मोर्चासँग औपचारिक वार्ता हुन सकेको छैन । संविधान निर्माण प्रक्रिया बहिष्कार गरेकामध्ये राप्रपा नेपालले प्रक्रियामा फर्कने निर्णय गरिसकेको छ । यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि सकारात्मक छलफल भैरहेको तीन दलका नेताहरुले बताएका छन् । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेतृत्वको संघीय मधेसी मोर्चाले वार्ताबारे औपचारिक निर्णय लिन पार्टीको बैठक बोलाएको छ । थरुहटरथारुवान संयुक्त संघर्ष समितिले वार्ताको वातावरण बनाउन भन्दै वार्ता टोली गठन गरेको छ । तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र महेन्द्र राय यादव नेतृत्वको तराई–मधेश सद्भावना पार्टी पनि अझै वार्तामा बस्न तयार भएका छैनन् । संविधानसभा बैठक बस्नुअघि सबै दलसँग वार्ताको लागि पहल भैरहेको तीन दलका नेताहरुले बताएका छन् । आन्दोलनरत दल वार्तामा नआए आजैदेखि प्रक्रिया सुरु गर्ने संविधानसभा सचिवालयको तयारी भएपनि मुख्य तीन दलकै केही नेताहरुले वार्ताको वातावरण बनाउन आवश्यक परे केही दिन प्रक्रिया लम्ब्याउनुपर्नेमा जोड दिएका छन् ।
Post a Comment