
नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान र्पुयाएका नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०१ औं जन्मजयन्ती मनाईदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेका थिए । वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए । भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष उठबस थियो । सोसलिष्ट ईन्टरनेशनलका उपाध्यक्षसमेत भएका उनी सधै ग्रामीण अर्थतन्त्रका हिमायती र प्रजातान्त्रिक समाजवादका अभियन्ता थिए । राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वा्चित पहिलो प्रधानमन्त्री बने । कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए । २०१५ सालमा पहिलो जननिर्वा्चित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गरेका आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रीय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।
Post a Comment