Home » » बचत सिकाउँदै सहकारी

बचत सिकाउँदै सहकारी

Written By Rijan KC on Wednesday, October 28, 2015 | 7:04 PM

गैंडाकोट । 
महिनामा ५० रूपैयाँ बचत गर्ने उद्देश्यले २२ वर्षअघि ६० जना मिलेर स्थापना गरेको गैंडाकोट बचत तथा ऋण सहकारी संस्थामा अहिले बचत गर्ने सदस्यहरु र बचत हुने रकम निकै बढेको छ । सहकारीको पुँजी र शेयर सदस्य बढ्नुका साथै बालबालिका समेटिने क्रम पनि सुरू भएको छ । विभिन्न १३ प्रकारका बचत कार्यक्रम चलाउने सो सहकारीमा बाल बचतबाट जम्मा हुने रकम दोस्रो स्थानमा छ । सहकारीले आइतबार २३ औं स्थापना दिवस मनाउँदा उत्कृष्ट बाल बचतकर्ताका इच्छा क्षेत्री पनि पुरस्कृत भइन् । सहकारीले इच्छासहित बाल बचतकर्ताहरु शिशिर कँडेल, किरण ढकाल र सुहानी गुरूङलाई संस्थाको २२ औं साधारण सभामा पुरस्कृत गरेको थियो । सहकारीका अध्यक्ष प्रेमबहादुर गुरूङका अनुसार असोज १५ गतेसम्म संस्थामा ९२६ जना बाल बचतकर्ताहरु रहेका छन् । गैंडाकोट सहकारीमा महिला शेयर सदस्यहरु आधाभन्दा धेरै छन् । सचिव देवराज पौेडेलका अनुसार कुल तीन हजार ६९८ शेयर सदस्यहरुमध्ये महिला एक हजार ९५० जना छन् । त्यो बाहेक पनि बाल बचतकर्ताहरु ९२६ रहेको सचिव पौडेलले बताए । उनले भने ‘महिला र बालबालिकालाई समेट्ने विषयमा हामी नमुना सहकारी हौं । महिलाहरुमा बचत गर्ने बानी हुन्छ । 

बचतका लागि उनीहरुले अरुलाई पनि प्रेरित गर्न सक्छन् ।’ संस्थाका कोषध्यक्ष हुमकान्त आचार्यका अनुसार गएको आर्थिक वर्षमा गैंडाकोट ऋण तथा बचत सहकारीको कुल बचत संकलन १६ करोड ६३ लाख ४५ हजार ३५४ रूपैयाँ रहेको थियो । सबैभन्दा धेरै दुई करोड ४६ लाख २४ हजार ८७३ रूपैयाँ मासिक बचतबाट संकलन भएको थियो । त्यसपछिको रकम बाल बचत खातामा संकलन भएको कोषाध्यक्ष आचार्यले जानकारी दिए । आचार्यका अनुसार बाल बचत खातामा गएको आर्थिक वर्षमा ८९ लाख ९७ हजार ५१९ रूपैयाँ जम्मा भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बाल बचत खाताको रकमको मात्रा ४२ प्रतिशत वृद्धि भएको उनले बताए । ‘बालबालिकामा सानैदेखि बचत गर्ने र उपयोगी काममा पैसा लगाउने बानी बसाल्न हामीले यस्तो बचत योजना ल्याएका हौं’ कोषाध्यक्ष आचार्यले भने । गैंडाकोट बचत सहकारीलाई गत वर्ष नवलपरासी जिल्ला सहकारी संघले उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै, गत साउन ३२ गते केन्द्रीय ऋण तथा बचत सहकारी संस्था लिमिटेड ९नेफ्स्कुन०ले सो सहकारीलाई पश्चिमाञ्चल क्षेत्रको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था घोषणा गरेको छ । एसियाली ऋण महासंघले दिने एक्सेस ब्राण्ड लिन आफूहरुले तयारी थालेका अध्यक्ष प्रेमबहादुर गुरूङले बताए ।  

Photo Caption: 'बाल बचत' उत्कृष्ट बाल बचतका रुपमा पुरस्कृत इच्छा क्षेत्रीलाई कात्तिक १ गते सम्पन्न सहकारीको २३ औं वार्षिकोत्सवका अवसरमा पुरस्कार दिँदै अध्यक्ष प्रेमबहादुर गुरूङ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC