Home » » गृहिणीदेखि राष्ट्रपतिसम्म यसरी पुगिन विद्या भण्डारी

गृहिणीदेखि राष्ट्रपतिसम्म यसरी पुगिन विद्या भण्डारी

Written By Rijan KC on Wednesday, October 28, 2015 | 7:26 PM

काठमाडौं, कार्तिक ११–

नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ ।

विद्या राष्ट्रपतिमा निर्वाचित भएसँगै नेपालले पहिलो महिला राष्ट्रपति समेत पाएको छ । नेपालले पहिलो महिला राष्ट्रपति पद सम्म कसरी पुगिन त विद्या भण्डारी । प्रस्तुत गर्छौ राष्ट्रपति भण्डारीको संक्षिप्त जीवनी:

वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिनुभएकी विद्यादेवी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ । 

२०३५÷३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उहाँले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आउनुभएको छ । २०३९ सालमा जननेता कमरेड मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा आबद्ध विद्यादेवी भण्डारी २०५० माघमा सम्पन्न भएको उपनिर्वाचनमा काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतकासाथ विजयी बन्नुभएको थियो । श्रीमानको मदन भण्डारीको चितवनको दासढुंगाामा भएको दुर्घटनामा निधन भएपछि उहाँ राजनीतिमा सक्रिय हुनुभयो । 

२०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उहाँले विधि निर्माणमा क्रियाशील भूमिका खेल्नुभएको थियो । उहाँ पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक हुनुहुन्थ्यो ।

रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित हुनुभएकी उहाँसँग वातावरण मन्त्रालयको जिम्मेवारी समेत अनुभव छ । २०५४ सालदेखि अखिल नेपाल महिला संघको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आउनुभएकी उहाँसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित हुनुभएकी उहाँ आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष जस्तो महत्वपूर्ण ओहदामा निर्वाचित हुनुभएको थियो ।

नेपालको संविधान निर्माणमा पार्टीका तर्फबाट उहाँले महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनकी एकजना सशक्त योद्धा, अग्रणी महिला नेतृ र सभासद् एवम् सांसदका रूपमा नेपालको संविधान एवम् विधि निर्माणमा महत्वपूर्ण भूमिका राष्ट्रपति भण्डारीको छ । आशा छ उहाँले राष्ट्रपति जस्तो अभिभावकीय पद कुशलता पूर्वक निर्वाह गर्नुहुनेछ भन्नेमा ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC