Home » » तराईमा खडेरी, साउन मध्यसम्म पनि खेत बाँझै

तराईमा खडेरी, साउन मध्यसम्म पनि खेत बाँझै

Written By Rijan KC on Sunday, July 26, 2015 | 10:02 PM


 
कलैया (बारा), श्रावण ११ - तराईका खेतहरूमा असार १५ मा रोपाइँ सुरु हुन्थ्यो। साउनको पहिलो सातासम्ममा सकिन्थ्यो। यसपालि साउनको दोस्रो साता लागिसक्यो, अधिकांश जमिन बाँझै छन्। कारण हो– खडेरी। बारा कचोर्वा–३ का राजेश्वर साह कलवारले यो साता ट्युबेलको पानी किनेर रोपाइँ गरे। ‘पानी किन्दा कट्ठामा १५ सय पर्‍यो,’ उनले भने, ‘धान सप्र्‍यो भने बढीमा दुई हजारको फल्ला। त्यो पनि भगवान् भरोसे।’
कसैको बिउ सुक्यो। कसैको बुढिइसक्यो। पानी पर्दैन। सिँचाइ सुविधा अति कमलाई छ। पर्खिएर पार नलाग्ने भएपछि किसानहरूले पानी किनेरसमेत रोपाइँ गर्न थालेका हुन्।
समस्या बाराको मात्र होइन, मध्य तराईका सबैजसो जिल्लामा हालत यही छ। यसपालि मध्यबर्खासम्म खडेरी परिरहेकाले किसानहरूको भोकतिर्खा हराएको छ। जिल्ला कृषि कार्यालयहरूका अनुसार औसतमा आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ।
रोपिएको धान पनि धेरैजसो पहेँलिएको छ। कतिपय खेतमा धाँजा फाटेको छ। यसले उत्पादन ठूलो मात्रामा घट्ने स्थिति आएको छ। कृषि विकास कार्यालय बाराका प्रमुख जितेन्द्र यादवले रोपाइँ सकिनुपर्ने बेला झन्डै ६० प्रतिशत खेत बाँझै रहेको बताए। ‘एक साताभित्र पानी नपरे ठूलो क्षति पुग्नेछ। पछि खाद्यान्न संकट आउन सक्छ,’ उनले भने, ‘एक महिनाभन्दा बढीको बिउ रोप्दा गाँज आउँदैन। उत्पादन ह्वात्तै घट्छ। बिउ लगाएको प्राय:को महिना नाघिसक्यो।’
रौतहटमा अझ कम मात्रामा रोपाइँ भएको छ। ‘यो बेला ८० प्रतिशत रोपाइँ भइसक्नुपथ्र्यो,’ कृषि विकास कार्यालय रौतहटका बाली संरक्षण अधिकृत मोहन महतोले भने, ‘तर मुस्किलले ३० प्रतिशत मात्र भएको छ।’ उनले यसपालि धान उत्पादन निकै घट्ने अनुमान गरिएको बताए।
वागमती सिँचाइ आयोजनाले समयमा पानी नछाडेकाले किसानहरू समस्यामा परेका हुन्। सिँचाइले यो साता मात्र पानी छोडेको छ। उक्त आयोजनाका प्रमुख राजेन्द्रप्रसाद यादवले नहर सफा गर्नुपरेकाले समयमा पानी दिन नसेको स्वीकारे। ‘असार २५ गतेदेखि दिने योजना थियो,’ उनले भने, ‘मर्मतको काम नसकिएकाले ढिला भएको हो।’
जिल्ला कृषि विकास कार्यालय पर्साका कृषि प्रसार अधिकृत मुन्नीलाल प्रसादले करिब ६० प्रतिशत रोपाइँ भएको बताए। उनका अनुसार गण्डक नहरदेखि दक्षिणी भागमा भने ३५ देखि ४० प्रतिशत मात्र रोपाइँ हुन सकेको छ। जिल्लाको ४० हजार हेक्टर धान खेतमध्ये करिब २५ हजार हेक्टरमा मात्र रोपाइँ भएको कृषिको अनुमान छ।
 
महँगो खेती
कलैया–१३ वैजनाथपुरका किसान नजिर मियाँले बोरिङ गरेको पानीबाट रोपाइँ गराइरहेका थिए। ‘५ कट्ठा खेतमा ७ घण्टा लाग्यो,’ उनले भने, ‘प्रतिघण्टा ३ सय रुपैयाँ तिरेर पम्पिङ सेट भाडामा ल्याएको थिएँ। तेलको मूल्य थपिँदा महँगो पर्न आउँछ।’
‘असार १५ सम्ममा रोपाइँ सक्नुपथ्र्यो। ढिलो भइसक्यो,’ उनले भने, ‘बुढिएको बिउ रोप्दा उत्पादन राम्रो हुँदैन। तैपनि खेत बाँझो राख्न मन मान्दैन।’ उनले अघिल्लो दिन ७ कट्ठामा त्यसरी नै पानी पटाएर रोपाइँ गरे। ‘यस वर्ष प्रकृतिले ठगेको छ,’ उनले भने, ‘थोरै खेत हुने हामीजस्ता किसानलाई उत्पादनभन्दा खर्च धेर पुग्ने भयो।’
वीरगन्ज–२८ श्रीसिया खल्वाटोलाकी लालपरी देवी तुराहाले भने पम्पिङ सेट ल्याउने हिम्मत गर्न सकेकी छैनन्। ‘आर्थिक अवस्था कमजोर छ,’ उनले भनिन्, ‘पानी किन्ने पैसा कहाँबाट पाउनु र रोपाइँ गर्नु?’ उनले बिउ मर्न थालेको बताइन्। भनिन्, ‘गाउँका कसैले रोपाइँ गर्न पाएका छैनन्। आकाशे पानी कुर्नुबाहेक उपाय पनि छैन।’ रौतहट चन्द्रनिगाहपुरका प्रहलाद थापाले खडेरीले खानै लागिसकेको बताए। ‘हुनेखानेले पम्पसेटले रोपाइँ गरे,’ उनले भने, ‘तर धेरैसँग त्यो हैसियत छैन।’ डुमरियाका रामप्रवेश साहले त्यसमै थपे, ‘यस्तै ताल रह्यो भने धानको हाहाकार हुनेछ।’
जिल्ला कृषि रौतहटका अनुसार यहाँ ३९ हजार ३ सय हेक्टरमा धान खेती हुन्छ। गत वर्ष ९८ हजार ४ सय ४० मेट्रिक टन धान फलेको थियो। यसपालि निकै घट्ने अनुमान छ।
बारामा ५७ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ। बेलामा रोपाइँ गर्न नपाएर निराश भएका यहाँका किसान रोजगारको खोजीमा भारततिर जान थालेका छन्। भारतको हरियाणा, पन्जाब, दिल्ली, लुधियाना, कोलकातातिर जानेहरूको सीमा क्षेत्रमा बिहान लस्करै देखिन्छ। उनीहरू भन्छन्, ‘खडेरी लाग्यो, यहाँ बसेर के गर्ने? खर्च जुटाउन त जानैपर्‍यो।’

स्रोतै सुक्यो
चितवनका करिब ११ गाविसलाई पानी पुर्‍याउने खगेरी सिँचाइ आयोजनाको नहर यतिबेलासम्म सुख्खा छ। पानी परेपछि खगेरी खोलामा बाढी आएर नहरमा पानी जान्थ्यो। ‘यसपालि खोलाको मुहानै सुकेको छ,’ आयोजना उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर गुरुङले भने, ‘नहर सुख्खा छ। किसानको धानको बिउ रोप्नै नपाई सुक्यो।’
चितवन कृषि कार्यालयका प्रवक्ता सन्तोष पौडेलका अनुसार करिब आधा जग्गामा रोपाइँ हुन बाँकी छ। पश्चिम चितवनका त धेरैजसो खेत बाँझै छन्।
उता मकवानपुरमा पनि रोपाइँ गर्न किसान बर्सात् कुरेर बसेका छन्। मकवानपुरको खेतीयोग्य जमिनमध्ये २० प्रतिशतमा मात्र वर्षभरि सिँचाइको सुविधा पुग्छ। बाँकीको भर आकाशे पानी नै हो। ३६ हजार ५ सय ४२ हेक्टर जमिनमा खेती भइरहेको छ। तीमध्ये अधिकांश खेतीमा रोपाइँ हुन सकेको छैन।
‘सिँचाइको अभाव यहाँका किसानको मुख्य समस्या हो,’ कृषि विकास मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘साउनको पहिलो साता बित्दा ५० प्रतिशत खेतमा पनि रोपाइँ हुन सकेको छैन।’

कान्तिपुर दैनिक बाट
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC