गुल्मी, साउन १० - गुल्मीको पिपलधारा गाविसमा दुई जनाको हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलधारा गाविस ८ का ४४ वर्षका नारायण मुखिया, २१ वर्षका बासुदेव जिसी र सोही गाविस ५ का ४० वर्षका बिष्णुबहादुर मुखिया रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
उनीहरुले गत बिहीबार सोही गाविस ८ का ३८ वर्षका बेलवहादुर मुखिया र १८ वर्षकी सिता मुखियालाई हत्या गरेको प्रहरीले बताएको छ । पक्राउ पर्ने नारायण विष्णुका दाजु हुन् । उनीहरुले वेलवहादुर मुखियालाई चिरपट दाउराले हानेर हत्या गरेको र सिता मुखियालाई मुखछोपी चुन्नीले घाँटी बाँधेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
दुवै जनाको एकै ठाउँमा हत्या गरेपछि मृतक सिता मुखियालाई नजिकै रहेको खनियाँको रुखमा चुन्नीको पासो लगाई झुण्डाइएको र अर्का मृतक बेलवहादुर मुखियालाई सोही रुखमुनि फालिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले घटनामा संलग्न मुख्य अभियुक्त मृतक बेलवहादुरका सहोदर दाजु नारायण मुखिया रहेको हुनसक्ने अनुमान गरेको छ ।
दाजुभाइ बीच सम्वन्ध राम्रो नभएको र समय समयमा झगडा हुने गरेको गाउँलेको भनाई छ । पक्राउ परेका तीनै जना अभियुक्तहरुलाई प्रहरी हिरासतमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनुभयो ।
Post a Comment