Home » » भाँचिएको पुलबाटै जोखिम मोलेर ओहोरदोहोर

भाँचिएको पुलबाटै जोखिम मोलेर ओहोरदोहोर

Written By Rijan KC on Saturday, August 1, 2015 | 7:26 PM

गैंडाकोट । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्तर्गत गैंडाकोट जयश्री खोलामा पुल भत्केको लामो दिन हुँदा पनि भरपर्दो आवगमनको व्यवस्था भएको छैन । जोखिम मोलेरै रिक्सा, साइकल, मोटरसइकल र पैदलयात्रुहरु भत्केकै पुलबाट ओहोरदोहोर गर्छन् । सोमबार साँझ पुल भत्केपछि अझै सहज रुपमा गाडी ओहोरदोहोर हुन सकेको छैन । ‘दुई दिन त पुलबाट जानआउन रोकेका थियौँ । पैदल पनि पातलो हिँडेका थिए । तर पछि रोक्न सकिएन’ डिभिजन सडक कार्यालय बुटबलका इन्जिनियर तथा साइट इन्चार्ज विष्णु खनालले भने । पुल भत्केको २४ घण्टापछि मंगलबार साँझ डाइभर्सन तयार गरेर आवगमन खुलाए पनि समस्या कम भएको छैन । बढी भार बोकेका मालबाहक ट्रक डाइभर्सनमा दबेर आवतजावतमा समस्या आएको छ ।
 ‘डाइभर्सनबाट ठूला गाडी राम्रोसँग पार नभएका कारण मोटरसाइकल जान सक्ने भएकाले भत्केकै पुलबाट हिँडेका छन्’ इन्जिनियर खनालले भने । सोमबार साँझ बढी भार भएका ट्रक र कन्टेनर एकैचोटी पार भए लगत्तै पुलको पश्चिमतर्फको भाग लच्केको छ । ३२ मिटर लम्बाइको यो पुलको पश्चिमतर्फको तीन मिटर भाग तल दबेर उकालोजस्तो भएको छ । सामान भरिएका रिक्साहरु पनि सकीनसकी त्यहीँ भागबाट ओहोरदोहोर गरेका हुन्छन् । मोटरसाइकलहरु पनि पुलको भत्केको भागबाट पार हुन गाह्रो हुने गरेको छ । कुनैकुनै मोटरसाइकलहरु पार हुने क्रममा पल्टने पनि गर्दछन् । तैपनि लाइन लागेर मोटरसाइकलहरु पुलबाटै जाने आउने गरेका छन् । पुलको मुखमा प्रहरी बसेर पार हुने बेलामा मोटरसाइकलमा दुईजना नचढ्न अनुरोध गरेका हुन्छन् । मोटरसाइकलको भीड हुँदा पुल थर्कने पनि गर्छ । ‘थर्कदैमा त डराउन पर्दैन । प्रविधि नै त्यस्तै प्रकारको हो । तर यसरी भीडभाड बढ्दा कत्तिको खतरा हुन्छ, त्यसको लेखाजोखा हुनुपर्छ’ इन्जिनियर खनालले भने । आवगमनमा परेको कठिनाइले पुलबाट हिँड्दै नहिँड भनेर रोक्नलाई पनि धेरै गाह्रो भएको उनले बताए । स्थानीयहरुले मोटरसाइकल नै प्रयोग गर्ने भएकाले रोकी हाल्न नसकेको उनले बताए । नारायणगढ बजारका मुख्य सडकमा लाग्ने गरेको गाडीहरुको जाम शनिबार पनि कम भएको छैन । डाइभर्सनभन्दा भरपर्दो बेलिब्रिज राख्नका लागि शनिबार सार्वजनिक सूचना निस्केको छ । सूचना निक्लेको दुई हप्ताभित्रै बेलिब्रिज तयार हुने इन्जिनियर खनालले बताए । पानी नआए डाइभर्सनबाट गाडी पार हुन केही सहज हुने भए पनि बेलिब्रिज नबन्दासम्म समस्या कायमै रहने अधिकारीहरुले बताए । 

डाइभर्सन कहिले बन्छ ? 
गैंडाकोटको जयश्री पुल भाँचिएपछि भरपर्दो वैकल्पिक सडक (डाइवर्सन) निर्माणमा ढिला भएको छ । ह्युमपाइप राख्ने काम भए पनि सामग्रीको अभावमा निर्माणको कामले गति लिन नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । खोलाबाट ढुङ्गा, गिट्टी ल्याउन नपाउँदा कामले गति लिन सकेको छैन सडक डिभिजन कार्यालय बुटवलका सव इन्जिनियर विष्णु खनालले भने । अमरापुरीको झरही खोलामा ढुङ्गा लिन ट्र्याक्टर जाँदा स्थानीयले अवरोध गरेपछि समस्या थपिएको छ । जिल्लाका खोलामा जिल्ला विकास समिति नवलपरासीले ठेक्का नलगाएकाले स्थानीयबाट खोलाजन्य सामग्री उठाउन समस्या भएको उनले बताए । ढुङ्गाको अभावमा ग्याबिङ भर्ने काम हुन नसक्दा दोहोरो गाडी पासमा समस्या भएको छ । ठूला गाडी पास हुन घन्टौँ लाग्ने हुँदा यात्रुले ठूलो सास्ती पाएका छन् । सोमबारदेखि रोकिएका मालबाहक गाडी भने अहिलेसम्म पनि गन्तव्यमा पुग्न सकेका छैनन् । देशकै प्रमुख सडक पूर्वपश्चिम राजमार्ग बन्द हँुदासमेत सरकारले ध्यान नदिएको भन्दै यात्रुले गुनासो गरेका छन् । यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले भने, ‘यो कामको अकण्र्मयता हो अरुलाई दोष दिएर काममा ढिला गर्ने बहाना बनाइनुहुन्न ।’ प्रमुख जिल्ला अधिकारीसँगको सल्लाहमा जुन खोलाबाट सामान ल्याउन पनि दिएका छौँ अझ अवरोध आउँला भनेर टिपरमै तीन÷चार जना प्रहरीको व्यवस्था गरेका छौँ सहायक प्रजिअ ढुङ्गानाले जनाए ।

चितवन पोस्ट बाट !
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC