Home » » थारु कल्याणकारिणी फेरि आन्दोलनमा

थारु कल्याणकारिणी फेरि आन्दोलनमा

Written By Rijan KC on Wednesday, October 28, 2015 | 6:59 PM

रामकुमार श्रेष्ठ, नवलपरासी । 
थारु कल्याणकारिणी सभा फेरि आन्दोलनमा उत्रिने भएको छ । नवलपरासीको अमलटारीमा दुई दिनसम्म चलेको थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाका पारित प्रस्तावलाई सार्वजनिक गर्न मंगलबार कावासोती नगरपालिका–१६ डण्डामा गरिएको पत्रकार सम्मेलनमा आन्दोलनबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा थारु समुदायका अगुवा राजकुमार लेखीले बन्द, हडताल, सिमामा नाकाबन्दी, राजधानी केन्द्रित आन्दोलन, संघीयताको सात प्रदेशको खाका जलाउनेलगायतका आन्दोलनका कार्यक्रमहरु तय भएको बताए । थारु कल्याणकारिणी सभाका आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राजकुमार लेखीले बुधबारदेखिनै सम्भव भएका जिल्लाहरुबाट सुरू गरिने बताए । 

उनले आफूहरु वार्ता विरोधी नरहे पनि यो सरकार अझै व्राम्हणवादबाट मुक्त हुन नसकेको भन्दै व्राम्हणवाद मुक्त भएर वार्तामा बोलाए वार्तामा बस्न तयार रहेको समेत बताए । लेखीले प्रधानमन्त्री केपी ओलीलाई कठपुतली सरकारको संख्या दिदै आफूहरु एउटा दल वा सरकार प्रमुखसँग मात्र नभई दुई तिहाई मत भएका दलहरु एक मत भएर आए मात्र वार्तामा बस्न तयार रहेको बताए । त्यस्तै राष्ट्रिय भेलाले आन्दोलनरत विभिन्न मोर्चाहरुसँग सहकार्य गर्ने, राजधानी केन्द्रित एवम् सीमा नाकाबन्दीलगायतका कार्यक्रमलाई निरन्तरता दिने, थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीलगायतलाई लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका १८ बुँदे प्रस्तावसमेत पारित गरेको छ । त्यसैगरी सात प्रदेशको सिमांकनको खाका गाउँ गाउँमा पुगेर जलाउने, नेकपा एमाले नेतृत्वको वर्तमान सरकार वार्ताप्रति सकारात्मक नभएको, एमालेका थारु सभासदहरुलाई वार्तामा सहभागी नगराउने र उनीहरुले गरेको वार्ता मान्य नहुने लगायतका मागहरु अघि सारेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC