श्रावण १२

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरलाई नोबेल पुरस्कार दिन माग गरेका छन् । स्विट्जरल्याण्डको एक टेलिभिजनसँग कुरा गर्दै पुटिनले विश्व खेलकुदमा उच्च पदस्थ व्यक्तित्वहरुलाई विशेष सम्मान दिनुपर्ने भन्दै ब्लाटर नोबेल पुरस्कारको असली हकदार भएको तर्क गरेका हुन । स्विस नागरिक ब्लाटर हाल कठिन समयबाट गुज्रिरहेको बताउँदै पुटिनले विश्व फुटबलमा सार्वजनिक भएका भ्रष्टाचार काण्डमा ब्लाटरको संलग्नताबारे आफूलाई एक शब्द पनि विश्वास नरहेको बताए । फिफाका दर्जन बढी उच्च पदस्थ अधिकारीमाथि अमेरीकामा छानबीन चलिरहेका बेला रुसी राष्ट्रपति पुटिन भने ब्लाटरको कट्टर समर्थकको रुपमा देखिदै आएका छन् । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता पूर्व विश्वमा फरक शक्ति र परिचय बनाएका यी दुई शक्तिकेन्द्रबीच निकै गहिरो तालमेल देखिएको छ । रुसलाई विश्वकप फुटबल आयोजना गर्न दिने निर्णयमा पनि आर्थिक चलखेल र अनियमिमता भएको आरोप केही राष्ट्रले लगाउँदै आएका छन् ।
Post a Comment