Home » » पर्वतमा पहिलो पटक बारुणयन्त्र

पर्वतमा पहिलो पटक बारुणयन्त्र

Written By Rijan KC on Monday, July 27, 2015 | 10:19 PM

पर्वत, साउन १२ । पर्वतमा पहिलो पटक आधुनिक अग्नी नियन्त्रण यन्त्र  बारुणयन्त्र  भित्रिएको छ । कुश्मा नगरपालिकाले सम्भावित आगलागी नियन्त्रण गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक बारुणयन्त्र खरिद गरेको हो । “जिल्लामा बारुणयन्त्र नहुँदा आगलागीका घटना हुनासाथ नियन्त्रण गर्न समस्या हुने गरेको थियो” कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले भन्नुभयो– “बढ्दो सहरीकरणसँगै सम्भावित आगलागीका घटनाबाट हुने क्षति रोक्न बारुणयन्त्र अत्यावश्यक थियो ।”
नगरपालिकाले रु ५९ लाखमा आन्तरिक स्रोतबाट बारुणयन्त्र खरिद गरेको कार्यकारी अधिकृत पौडेलले बताउनुभयो । सो बारुणयन्त्रमा तीन हजार ५०० लिटर पानी अट्ने क्षमता रहेको छ । गतवर्ष सदरमुकाम कुश्मामा रहेको कपास उद्योगमा आगलागी हँुदा रु ४० लाख बढीको क्षति भएको थियो ।
बारुणयन्त्रको अभावमा अहिलेसम्म आगलागी भइहालेमा ढुङ्गा र माटो फ्याकेर आगो नियन्त्रण गर्नुपर्ने अवस्था थियो । मानिसले बोकेर पानी फ्याक्दा आगलागीबाट ठूलो क्षति हुने गरेकामा अब त्यस्तो अवस्था नआउने बताइएको छ ।
पछिल्लो समयमा कुश्मा नगरपालिकाभित्र भौतिक संरचना निर्माण हुने क्रम बढ्दो छ । बारुणयन्त्र जिल्ला प्रहरी कार्यालयमा लगेर राखिएको छ । गृहमन्त्रालयले स्थानीय निकायसँग रहेका बारुणयन्त्र सञ्चालन जिम्मेवारी सशस्त्र प्रहरीलाई दिने तयारी गरे पनि कुश्मा नगरपालिकाले नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
अन्तर्राष्ट्रिय प्रचलन विपरीत सशस्त्रले स्थानीय निकायअन्तर्गत सञ्चालित वारुणयन्त्रको जिम्मेवारी गृहमन्त्रालयमार्फत लिन खोजेको छ । गृहले स्थानीय विकास मन्त्रालयमा पत्राचार गरी सशस्त्रलाई बारुणयन्त्रको जिम्मा लगाउने तयारी गरेको छ । रासस
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC