भदौ १५

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तराई क्षेत्रमा एक करोड भारतीयहरु रहेको भन्दै उनीहरुको हीत रक्षाका लागि भाजपा सरकार सचेत रहेको बताएका छन् । नेपालको विद्यमान राजनीतिक अवस्थाप्रति भारत सजग रहेको भन्दै उनले नेपालमा बस्ने भारतीयहरुको सेवा–सुरक्षाप्रति भारत सरकारको चासो रहेको बताएका हुन् । भारत, उत्तर प्रदेशको महाराजगन्ज जिल्लामा आइतबार भारतीय सशस्त्र सीमा बल ९एसएसबी०को नयाँ पोस्टको शिलान्यासका क्रममा नेपालबारे बोल्दै सिहंले मधेसको समस्या नेपालको आन्तरिक मुद्दा भएकोसमेत उल्लेख गरे । भारतको ‘मेल टुडे अनलाइन’ले सिंहको भनाइ उद्धृत गर्दै सोमबार प्रकाशन गरेको समाचारमा वर्षौंअघि भारतबाट बसाइँ सरेर नेपाल गएका मधेसीहरु भारतीय भएको र उनीहरुमध्ये धेरैले अझै पनि नागरिकता नपाएको उल्लेख गरेको छ । सो अनलाइनले गोरखपुरबाट निर्वाचित भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथले अहिले मधेसीहरुले चलाइरहेको आन्दोलनका लागि ‘लजिस्टिक’ सहयोग गरेको दाबीसमेत गरेको छ । यसैबीच, काठमाडौंस्थित भारतीय दूतावासले भने आफ्ना गृहमन्त्री राजनाथ सिंहले नेपालको तराईमा एक करोड भारतीय रहेको भन्ने अभिव्यक्ति नदिएको दाबी गरेको छ । सोमबार अपरान्ह विज्ञप्ति जारी गर्दै दूतावासले उक्त अनलाइन संस्करणमा प्रकाशित भनाइ गृहमन्त्री सिंहको नभएको बताएको हो ।
Post a Comment