भदौ ११

नेपाली वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो । युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए । यसअघी मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए । ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए । नेपालले शनिबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै युएई, मलेसिया र साउदी अरेयिबा सहभागी छन् । नेपाली टोलीका लागि यो प्रतियोगिता युवा विश्वकपको तयारीका रुपमा पनि छ ।
यो प्रतियोगिताको शीर्ष तीनमा रहने टीमले आउँदो अक्टोबर महिनामा हुने १९ वर्षमुनिको एसिया कपमा खेल्न पाउने छन् । १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिता आउँदो अक्टोबर १४ देखि २३ सम्म मलेसियामै हुँदैछ ।
Post a Comment