भदौ ८

यु–१९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरणअनुसार सेमिफाइनलमा नेपालको भिडन्त अफगानिस्तानसँग हुनेछ । नेपाल समूह ‘ए’को समूह विजेता हो भने अफगानिस्तान समूह ‘बी’को उपविजेता हो । नेपालले समूहमा भुटान र बंगलादेशलाई हराएको थियो भने अफगानिस्तानले माल्दिभ्सलाई हराउँदा भारतसँग पराजित भएको थियो । यसैगरी, अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता बंगलादेश भिड्ने छन् । भारतले अफगानिस्तान र माल्दिभ्सलाई पराजित गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको समूहको अन्तिम खेलमा मंगलबार भारतले माल्दिभ्समाथि ३–० को स्पष्ट जित निकाल्यो । प्रतियोगिताकै सर्वाधिक अन्तरको जित निकाल्नेक्रममा भारतले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल गरेको थियो । ६ टिम सहभागी प्रतियोगिताबाट भुटान र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन् । दुबै सेमिफाइनल खेल बिहीबार हुनेछन् ।
Post a Comment