भदौं ११

नेपाली कांग्रेसले प्रदेशको सीमाङ्नप्रति देखिएको असन्तुष्टी साम्य पार्न सभासदहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार बिहान संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको पदाधिकारी बैठकले प्रस्तावित सात प्रदेशका सभासदहरुसँग छुट्टाछुट्टै छलफल गर्ने भएको हो । सभासदहरुसँग शुक्रबारदेखि नै परामर्श हुने भएको छ । प्रस्तावित सात प्रदेशको खाकाप्रति सभासदहरुले सार्वजनिक रुपमा असन्तुष्टी राख्न थालेपछि कांग्र्रेसले छलफल गरेर पार्टीभित्र समान धारणा बनाउन लागेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । प्रस्तावित खाकाप्रति विशेष गरी थारु, मधेस क्षेत्र, बाग्लुङ, रुकुम र कर्णाली क्षेत्रका सभासदहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन् । बैठकमा भदौ महिनाभित्र नयाँ संविधान जारी नभए पार्टीको वैधानिकताका विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिनुभयो । कांग्रेसको १३ महाधिवेशन असोजभित्रै गर्नुपर्ने भएपनि संविधान निर्माणमा सहभागी हुनु परेकाले संभव नहुने भएपछि उत्पन्न हुने वैधानिक प्रश्नबारे पनि छलफल गरेको छ । भदौभित्र नयाँ संविधान जारी नभए अन्तरिम संविधान सम्बोधनका लागि एमाले र एकीकृत माओवादीलाई आग्रह गर्ने तयारी कांग्रेसले गरेको उपसभापति पौडेलले जानकारी दिनुभयो ।
Post a Comment