भदौ १७
बिश्वमा आप्रवासीको समस्याले विकराल रुप लिइरहेका बेला हंगेरीमा आप्रवासी शरणार्थी र प्रहरीबीच ब्यापक झडप भएको छ । अष्ट्रिया र जर्मनी जान लागेका ग्रीसका शरणार्थीलाई हंगेरीमा रोक्न खोज्दा झडप भएको हो । हंगेरी बुडापेष्टमा तैनाथ सुरक्षाकर्मीले शरणार्थीलाई रोक्न खोज्दा ढुंगामुढा हुँदा दुबैतर्फ थुप्रै घाइते भएका छन् । झडपको क्रममा शरणार्थीले हंगेरीका राष्ट्रपतिबिरुद्ध चर्को नारा लगाएका थिए । यता हंगेरीका प्रधानमन्त्रीका प्रवक्ता जोल्टान कोबासले भने अष्ट्रिया र जर्मनीको टिकट लिई हंगेरीको बाटो भई गएका शरणार्थीलाई रोकेको बताएका छन् । प्रहरीले रोकेपछि सयौं शरणार्थी बुडापेष्टको पार्क र सडकमा अलपत्र परेका छन् । यता युरोपका कतिपय राष्ट्रहरुले शरणार्थी समस्या समाधानका लागि ठोस कदम चाल्ने तयारी गरेका छन् । इटली र अष्ट्रियाले भने आ–आफनो सीमामा चेक जाँच पोष्ट स्थापना गरिसकेका छन् भने अन्य मुलुकले पनि छिट्टै चेक जाँच पोष्ट स्थापना गर्ने भएका छन् । युरोपियन संघले आप्रबासी समस्या समाधानका लागि यो साता लग्जमबर्गमा बैठक आह्वान गरेको छ । जसमा ग्रीस, अष्ट्रिया, फ्रान्स, बेलायत र इटलीका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
Post a Comment