- पहिलोपोस्ट - पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि मध्याह्न १२ बजेदेखि दशरथ रंगशालामा राखिने भएको छ।
त्यसअघि ८ बजेसम्म महाराजगन्जस्थित कोइराला निवासमै पार्थिव शरीर राखिने र त्यसपछि त्यहाँबाट १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।
कोइरालाको गएराति साढे १२ बजे निधन भएको थियो। निधनपछि शोकमा डुबेको कांग्रेसले आसन्न केन्द्रीय महाधिवेशन स्थगित गरेको छ।
महाधिवेशन स्थगित
महाधिवेशनको चटारोमा रहेको कांग्रेस एक्कासी शोकमा डुबेको छ। कोइराला निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशन हाललाई स्थगित भएको र ११ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले प्रक्रियागत निर्णय गर्ने जानकारी दिए।त्यस्तै महामन्त्री प्रकाशमान सिंहले जिल्लामा भइरहेका अधिवेशनहरुलाई पनि जहाँ जुन अवस्थामा छ त्यही अवस्थामा रोक्न निर्देशन दिइने प्रतिक्रिया दिए।
हर्ट अट्याकको शंका
कोइराला सुरुमा उठन खोज्दा लडेको र त्यसपछि हर्ट अट्याक भएको भनिएको छ। यसको चिकित्सकीय पुष्टि हुन बाँकी छ। निजी चिकित्सक कबिरनाथ योगी राति नै त्यहाँ आइपुगेका थिए।
कोइरालाका स्वकीय सचिव तथा उनका भतिज अतुल कोइरालाले मृत्युको पुष्टि गरेका छन्। पहिलोपोस्टसँग कुरा गर्दै अतुलले भने, "दुई दिनदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो।"
पूर्व प्रम कोइरालालाई धेरै पहिलेदेखि फोक्सोको समस्या थियो। उनलाई क्यान्सर पनि भएको थियो। तर अमेरिकामा उपचारपछि निको भयो भन्दै उत्साहित हुँदै फर्किएका थिए।
"खोकी पनि थियो", भतिज अतुलले भने, "सामान्य समस्या भनी अस्पताल पनि जानु भएको थिएन र एक्कासी यस्तो दुर्घटना भयो।"
यसअघि उनी सोमबार भएको काठमाडौँ जिल्ला अधिवेशनमा अनुपस्थित थिए। अधिवेशनको उद्घाटन कोइरालाले गर्ने भनी प्रचार गरिए पनि दम बढेर अस्वस्थ भएको भन्दै अनुपस्थित भएपछि अर्का नेता शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
"दुई दिनदेखि ज्वरो थियो"
पारिवारिक स्रोतका अनुसार कोइरालालाई आइतबारदेखि ज्वरो आएको थियो। अस्पताल जान उनका सहयोगीहरुले आग्रह गर्दा उनी आफैले पर्दैन भनेका थिए।
सोमबारको काठमाडौँ जिल्ला अधिवेशनमा पनि उनले जान्छु भनी अड्डी लिएका थिए। तर सहयोगीहरुले तपाईँलाई ज्वरो आएको छ तपाईँ जान सक्नुहुन्न भनी रोकेका थिए।
त्यसो भए पनि हिजो दिउँसो र बेलुका कोइरालाले आफूले गर्नुपर्ने काम आफै गरेका थिए।
Post a Comment