फाल्गुन २९, रत्ननगर । गत बैशाख १२ गतेको महाभुकम्पका कारण स्थगित नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशनको बन्द सत्र शनिबारबाट सुरु भएको छ । पुर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टार ब्याङकेटमा सुरु भएको बन्द सत्र कार्यक्रम दुई दिन चल्नेछ ।
बन्द सत्रमा सहभागि हुन देशभरिका झन्डै ५२ जिल्लाका ५ सय बढि प्रतिनिधि तथा पर्यवेक्षक चितवन आएका छन । बन्दसत्रमा विभिन्न भातृ संगठनका प्रतिनिधिहरु, केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, स्वदेश तथा बिदेशका आवद्ध सदस्य तथा प्रतिनिधि, पर्यवेक्षकहरु, केन्द्रिय सल्लाहकारहरु तथा अन्य अतिथिहरु समेत गरि ५ सय बढिको सहभागिता रहेको नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिए । उनले नयाँ संविधान आइसकेको अवस्थामा केहि प्रान्तिय बिषयमा सचिवालयबाट पारित भएका घेदुङको बिधान पनि संसोधन हुने बताए । कार्यक्रममा शनिबार विभिन्न प्रतिवेदनहरु पेश तथा पारित हुने र आइतबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपिराज घलानले जानकारी दिए ।
हरेक चार चारबर्षमा नेतृत्व परिवर्तन हुने भए पनि गत बैशाखमा महाभुकम्पका कारण नेतृत्व परिवर्तन हुन नसकेको घेदुङको करिब ५ बर्षपछि नेतृत्व परिवर्तन हुन लागेको हो । नयाँ नेतृत्वका लागि हालका महासचिव कुमार ब्लोनसहित अन्य दुई जना आकांक्षी रहेको बताइन्छ । महासचिवमा पनि हालका सचिवद्धय प्रतिक ङेसुर र काजीमान थिङको चर्चा छ । त्यस्तै सचिवमा तामाङ सञ्चार समुहका अध्यक्ष जगत दोङको चर्चा छ । कार्यक्रममा प्रतिनिधि, पर्यबेक्षक तामाङ भेषभुषामा सहभागि हुनुपर्ने नियमअनुसार सबै प्रतिनिधि, पर्यबेक्षक तामाङ पोषाकमा उपस्थित भएका छन । अधिकांश प्रतिनिधिले यस बन्द सत्रबाट तामाङ समुदायको बिकास र उत्थानमा लागिपर्ने जुझारु नेतृत्व घेदुङले प्राप्त गर्ने बिश्वास ब्यक्त गरे ।
गत बैशाखमा महाधिवेशनको उदघाटन सत्र मात्र सम्पन्न भएको थियो । सो दिनको महाभुकम्पले तामाङ समुदायको बाहुल्यता रहेको अधिकांश जिल्लामा ब्यापक क्षति पुर्याएपछि बन्द सत्र गर्न ढिलाई भएको हो ।
Post a Comment