श्रावण १२

भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको पार्थिव शरीर दिल्ली ल्याइएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार दिल्लीको पालम हवाई मैदानमा डा. कलामप्रति श्रद्धाञ्जली व्यक्त गरे । सोमबार निधन भएका कलामको पार्थिव शरीर गुवाहाटीबाट विशेष विमानमाार्फत् दिल्ली ल्याइएको हो । कलामको बुधबार उनकै पैतृक सहर रामेश्वरममा अन्तिम संस्कार गरिने कार्यक्रम छ । पूर्वराष्ट्रपति कलामको निधनमा भारतमा सातदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोस भएका थिए । ‘मिसाइल मेन’को नामले चिनिने ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आइसीयुमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो । कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् १९३१ अक्टुबर १५ मा तमिलनाडुको रामेश्वरम्मा जन्मिएका कलाम भारतका ११औं राष्ट्रपति बनेका थिए । भारतको मिसाइल टेक्नोलोजी निर्माणमा ठूलो योगदान दिएका कलाम १९९७ मा सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’बाट सम्मानित भएका थिए ।
Post a Comment