भदौ ४
यो सिजनको स्पेनिस लिग ला लिगा फुटबल प्रतियोगिता शुक्रबार रातिबाट सुरु हुँदैछ । विश्व फुटबलमा इंग्लिस प्रिमियर लिगपछि सबैभन्दा रुचाइने र हेरिने फुटबल लिगको रुपमा मानिने ला लिगाको सुरुआतसँगै फुटबलप्रेमी माझ फुटबलको ज्वरो बढ्ने निश्चित छ । नेपाली समयअनुसार शुक्रबार राति सवा १२ बजे सेभिया र मालागाबीचको भिडन्तसँगै यो सिजनको ला लिगा फुटबल प्रतियोगिता सुरु हुनेछ । विश्वका दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त, साथमा उनीहरुलाई लिगको अंक तालिकामा पछ्याउने र चुनौती दिने एथ्लेटिको मड्रिडको सनसनीपूर्ण खेल ।
वर्तमान विश्व फुटबलका सर्वाधिक सफल खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै स्वारेज र नेइमारको जादूमय खेल कौशल । यी यावत कारणले ला लिगा यतिबेला बहुप्रतिक्षित बनेको छ । इंग्लिस प्रिमियर लिगपछि सबैभन्दा बढी हेरिने लिगको रुपमा चिनिने ला–लिगालाई प्रिमियर लिगपछिको प्रतिस्पर्धात्मक लिग पनि मान्ने गरिन्छ । कतिले त यसलाइ प्रिमियर लिगभन्दा पनि उत्कृष्ट लिगको रुपमा लिने गरेका छन् । गत सिजन ला लिगासँगै च्याम्पियन्स लिग र कोपा डेल रे को उपाधि आफ्नो पोल्टामा पारेको बार्सिलोनालाई यो सिजनमा पनि सोही प्रदर्शन दोहोर्याउने चुनौती हुनेछ । बार्सा प्रशिक्षक लुइस एन्रीकेले आफ्नो पहिलो कार्यकालमा बार्सालाई जुन सफलता दिलाए, त्यसलाई यो सिजनमा निरन्तरता दिन सक्लान् या नसक्लान् प्रतिक्षाको विषय बनेको छ । यस्तै, गत सिजन लामो समय लिगको अंक तालिकामा अग्रता लिए पनि अन्तिम समयमा दोस्रो स्थानमा चित्त बुझाएको रियलले यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको छ ।
यसपटक रियलका नवप्रशिक्षक राफा बेनिटेजको असली अग्निपरीक्षा हुने छ । विश्वकै सबैभन्दा धनी क्लब रियल गत सिजन उपाधिविहीन बनेको थियो । यस्तो अवस्थामा बेनिटेजको काँधमा रियललाइ लिगको उपाधि दिलाउँदै लयमा फर्काउने जिम्मेवारी छ । यो जिम्मेवारीले उनको मड्रिडमा भविष्यकोसमेत निर्धारण गर्ने छ । यसपटक पनि रियाल र बार्साको उपाधि यात्रामा एथलेटिको मड्रिड, भ्यालेन्सिया, सेभिया र एथलेटिक बिल्बाओ तगारो बन्ने निश्चित छ । यीबाहेक इस्पानुयल, गेटाफे, लेभान्तेलगायतका क्लबहरुसँगको खेललाई पनि शीर्ष क्लबहरुले सजिलो रुपमा लिनु भुल हुने खेल विश्लेषकहरु बताउँछन् । यसपटक पनि मेसी, रोनाल्डो, नेइमार र स्वारेजनै लिगमा छाउने प्रमुख खेलाडी बन्ने धेरैको अनुमान छ ।
Post a Comment