भाद्र १०

चितवन राष्ट्रिय निकुञ्जले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई मूल्य अभिवृद्धि कर (भ्याट) बापत एक करोड रूपैयाँ राजस्व बुझाएको छ । निकुञ्ज कार्यालयबाट नियमित रुपमा टिकटबाट भ्याट संकलन भएको यो नै पहिलो पटक हो । गत वर्षको कात्तिकबाट निकुञ्जले भ्याट संकलन सुरू गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त जानकारीअनुसार भ्याटबापत् एक करोड चार लाख ४५ हजार ३७८ रूपैयाँ संकलन भएको छ । चितवन निकुञ्जले यो वर्ष भ्याट सहित विभिन्न शीर्षक अन्तर्गत कुल २५ करोड ६६ लाख ८३ हजार ३७ रूपैयाँ राजस्व संकलन गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज देशकै पहिलो र ठूलो राष्ट्रिय निकुञ्ज हो । दुर्लभ वन्यजन्तु बाघ, गैंडाको बासस्थल रहेको यो निकुञ्जमा देश विदेशबाट आएका पर्यटकहरु जंगली जनावरहरु हेर्नुका साथै यस वरपरका आदिवासी थारु, बोटे समुदायको रहनसहन संस्कार संस्कृति अवलोकन गर्न रूचि राख्छन् । गत आर्थिक वर्षमा चितवन निकुञ्ज घुम्न एक लाख ७८ हजार २५७ जना पर्यटक आएका थिए । काठमाडौं र पोखरापछि चितवन निकुञ्ज देशको तेस्रो मुख्य पर्यटकीय गन्तव्य रहेको छ । पछिल्लो पटक भूकम्पका कारण निकुञ्ज आउने पर्यटकहरु भने ह्वात्तै घटेका छन् । चितवन जिल्लाका साथै नवलपरासीको दाउन्ने पूर्व नवलपुर क्षेत्रमा समेत कायक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय पनि सबैभन्दा धेरै राजस्व संकलन गर्ने कार्यालयभित्र पर्दछ । सो कार्यालयले गत आर्थिक वर्षमा झण्डै १० अर्ब अर्थात नौ अरब ९३ करोड ७४ लाख ५१ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले भ्याट वापत कुल ५९ करोड, ९२ लाख २६ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष कार्यालयले लक्ष्यभन्दा झण्डै २० प्रतिशत कम भ्याट संकलन गर्न सकेको थियो । कार्यालयले भ्याटबाट ७४ करोड ५८ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
Post a Comment