श्रावण १९
रौतहटका सर्वसाधारण उपभोक्तालाई बिक्री खुल्ला गरिएको बन पैदाबार आपूर्ति समितिको गोलिया काठ दुरुपयोग भएको खुलासा भएको छ । जिल्लाका विभिन्न उपभोक्ता समिति सदस्यलाई वितरणका लागि राखिएको काठ चोरी गरी तस्करले वन कर्मचारीकै मिलोमतोमा उपभोक्ताको नामबाट ब्यापारीलाई बिक्री गरेको आरोप उपभोक्ताहरुले लगाएपछि यसको खुलासा भएको हो । तीन महिनादेखि उपभोक्ताका नाममा १२ हजार क्युफिटभन्दा बढि गोलिया काठ बिक्री भइसकेको आरोप उपभोक्ताको छ । रौतहटको जंगलसैया साझेदारी वन उपभोक्ता समूहबाट मात्र १० जनाभन्दा बढी उपभोक्ताको नाममा रहेको काठ चोरी भई बिक्री भइसकेको छ । उपभोक्ताले विभिन्न समयमा बिक्री गर्न लगिएको काठ रंगेहात समाते पनि छानविन समितिमा वन कर्मचारी नै भएका कारण पुनः काठ व्यापारीसम्म पुग्ने गरेको आरोप उनीहरुले लगएका छन् । सम्बन्धित गाविसको कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा आपूर्ति समितिबाट घरकाज, दैवी प्रकोप, धर्मकर्मको लागि आवश्यकताअनुसार ५० देखि ७० क्युफिट गोलिया काठ एक उपभोक्तालाई दिने प्रावधान छ । तर एउटै ब्यापारीले धेरै उपभोक्ताको नाममा छोडपूर्जी बनाएर काठको दुरुपयोग भइरहेको स्थानीयको आरोप छ ।
Post a Comment