भदौ १३

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीका नेता वर्षमान पुन र जनार्दन शर्मासहितको सहभागितामा टीकापुरको हिंसात्मक घटनाको योजना बनाइएको आरोप लगाएका छन्। यसले एमाओवादीलाई अनिश्चिततातर्फ र मुलुकलाई अराजकतामा धकेल्ने उनको विश्लेषण छ।एमाले केन्द्रीय प्रचार विभागद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको बताउँदै यसबीचमा उठेका असन्तुष्टिका सवाललाई सम्बोधन गर्न प्रस्तावित प्रदेशका जिल्लालाई यताउता गर्न सकिने बताए।उनले आवश्यक पर्दा मुस्लिम, थारु, मधेसी वा जनजातिका संवैधानिक आयोग बनाउने विषयमा एमाले सकारात्मक भएको जानकारी दिए। “संविधान निर्माण गरेर मुलुकलाई छिटो निकास दिनुपर्छ भन्ने सवालमा पार्टी इतिहासमै पहिलोपटक बढी एकीकृत भएको छ”, उनले भने।सचिव भट्टराईले अमेरिकी र पश्चिमा शक्तिले नेपालमा टेकेर भारत र चीनलाई हेर्ने काम गरिरहेकाले संविधान निर्माणमा उनीहरुको पनि आफ्नो चासो रहेको बताउँदै नेपाललाई छिन्न भिन्नसहितको राष्ट्र मण्डल होइन, एकीकृत नेपाल बनाउने संविधान आवश्यक भएको बताए।कार्यक्रममा एमालेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीले जनवर्गीय सङ्गठनलाई अधिकारका सवालमा लड्न रोक नलगाएको तर नियन्त्रण बाहिर नजान भनेको स्पष्ट पारे।
Post a Comment