श्रावण १९
संविधानमा धर्म निरपेक्षताको खारेजी र हिन्दू राष्ट्रको माग गर्दै हिन्दु धर्म संरक्षण संघर्ष समिति लगायत विभिन्न धार्मिक संघ संगठनले गरेको बन्दका कारण मंगलबार बर्दियाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने उद्योग धन्दा, कलकारखाना, विद्यालय तथा बजार बन्द छन् । वन्द आह्वानकर्ताहरु सडकमा नदेखिए पनि स्वतः स्फूर्त रुपमा बजार बन्द गरिएको व्यापारीहरुले बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा ९० प्रतिशत जनताबाट नेपाललाई हिन्दु राष्ट्र बनाईनुपर्ने सुझाव आए पनि त्यसलाई बेवास्ता गरी दलहरु जनमत विपरित जान खोजेको भन्दै धार्मिक संघ संगठनहरुले विरोध गरेका हुन् । उनीहरुले धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । हिन्दुधर्म संरक्षण संघर्ष समिति, नेपाल शिवसेना, विश्व हिन्दु महासंघ, वैद्धिक हिन्दु संयुक्त सनातन धर्म राष्ट्रिय संघर्ष समिति लगायत हिन्दुबादी संघ संगठनले बन्दको समर्थन गरेका छन् ।
Post a Comment