Home » » उपभोक्ताको स्वास्थ्यमाथी खुलेआम खेलवाड, बजार अनुगमन भएन

उपभोक्ताको स्वास्थ्यमाथी खुलेआम खेलवाड, बजार अनुगमन भएन

Written By Unknown on Monday, August 3, 2015 | 10:50 PM

साउन १९
पूर्वी चितवनका उद्योगीहरुको लापरबाहीले गर्दा उपभोक्ताको स्वास्थ्यमाथी गम्भीर खेलवाड भएको छ। पूर्वी चितवनका विभिन्न खाद्य उद्योगहरुले आफ्ना खाद्य उत्पादनहरुमा उत्पादन मिति र उपभोग्य मिति उल्लेख नगरी बजारमा पठाउने गरेको पाइएको छ। रत्ननगर र खैरहनी क्षेत्रमा रहेका विभिन्न पाउरोटी उद्योग, चाउमिन उद्योगहरुले उत्पादन मिति, उपभोग्य मिति र मूल्य उल्लेख नगरी आफ्ना उत्पादनहरु बजारमा पठाउने गरेका छन् । दैनिक रूपमा धेरै खपत हुने पाउरोटी, चाउमिनलगायतका खाद्य वस्तुमा गरिएको यस्तो लापरबाहीले धेरै उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड भएको हो। बच्चादेखि वृद्धसम्मले दैनिक रूपमा खाने खाद्य वस्तुहरु कहिले उत्पादन भएको, कहिलेसम्म खान मिल्ने भन्ने मिति  नियतवस नै उल्लेख नगर्ने  गरिएको पाइएको छ। यस्तो लापरबाहीले धेरैको स्वास्थ्य जोखिममा परेको छ। पाउरोटी कम्पनीलाई उत्पादन मिति र उपभोग्य मिति लेखेर पठाउनु भनेर बारम्बार भन्दा पनि सुनुवाइ नभएको बताउँछन् खैरहनीका स्थानीय व्यवसायी कृष्ण डल्लाकोटी। पाउरोटी मात्र होइन चाउमिनमा समेत त्यस्तै लापरबाही हुने गरेको छ। बजारका स्थानीय होटलहरुमा पाइने चाउमिनमा कुनै पनि उत्पादन मिति लेखिएको छैन। चाउमिन समेत गुणस्तरीय नभएको गुनासो गर्छन्  । रत्ननगरको एक होटलका संचालकले उत्पादकले पठाएको चाउमिन कहिलेकाही त हेर्दै नराम्रो हुने, कुहिएको जस्तो हुने, गनाउने गरेको उनले बताए। पूर्वी चितवनका बजारमा अहिले यस्ता उत्पादन मिति, उपभोग्य मिति नलेखिएका बासी र  गुणस्तरहिन पाउरोटी ,चाउमिन लगायत वस्तुहरु विक्रीवितरण भइरहेका छन्। उत्पादन मिति र उपभोग्य मिति नहुँदा व्यवसायीले बासी सामग्री समेत ताजा भन्दै बेच्ने गरेका छन् । बजारमा म्याद नाघेका सामाग्रीहरु पनि बिक्रीवितरण हुँदै आएको छ। पसलमा बिक्रीका राखिएका पाउरोटीमा उत्पादन मिति र उपभोग्य मिति नलेखिएकोले धेरै दिनको वासी पाउरोटी समेत ताजा भन्दै बिक्री गर्ने गरिएको खैरहनीका स्थानीय नारायण पराजुली बताउँछन्। यस्ता किसिमका उत्पादनहरु खुलेआम रुपमा बजारमा बिक्रीवितरण गर्दा समेत अनुगमन तथा कारबाही गर्ने निकायहरू मौन देखिएका छन्। बजार अनुगमन चाडपर्वको बेलामा मात्र हो जस्तो देखिएको छ। बजार अनुगमन फितलो हुँदा उद्योगी र व्यवसायीहरुको मनोबल बढेको छ। यसरी उपभोक्ताको स्वास्थ्य माथी खेलवाड हुँदा उपभोक्तको हकअधिकारका लागि स्थापना गरिएका विभिन्न संघसंस्थाहरु र अधिकारकर्मीहरु समेत अहिले निदाएका छन्। सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीहरुको बेवास्ताले गर्दा उपभोक्ताको स्वास्थ्यमाथी खुलेआम खेलवाड भएको छ। ठुलो क्षती नहुँदै सम्बन्धित सरकारी निकायले यस्ता उद्योग तथा व्यवसायीलाई अनुगमन तथा कारबाही गर्न जरुरी छ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC