भदौ ११
नाइजेरियाको आतंकवादी समूह ‘बोको हराम’ले स्कुले बालिकालाई अपहरण गरेको पाँच सय दिन पुगेको छ ।आतंककारी समूहले बालिकालाई अपहरण गरेको विरोधमा स्थानीय समयअनुसार बिहीबार बिहान नाइजेरिकाका विभिन्न शहरमा र्याली निकालिएको छ । ती बालिकालाई अपहरण मुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले आयोजना गरिएको र्यालीमा सयौंको सहभागिता थियो । ‘ब्रिङ्ग ब्याक आवर गर्ल्स’ नामको अभियानमा सहभागीहरुले राष्ट्रपति गुडलक जोनाथनबिरुद्ध चर्का नारा लगाएका छन् । रातो टिसर्ट र हातमा रातो रिवन बाँधेका प्रदर्शनकारीहरुले बालिका अपहरण भएको पाँच सय दिन बितिसक्दा पनि सरकारले अपहरण मुक्त गर्ने प्रयास नगरेको भन्दै सरकारको कडा आलोचना गरेका हुन् । पाँच सय दिनअघि अर्थात् गत वर्ष अप्रिल १४ मा वार्षिक परीक्षाको तयारीमा रहेका दुई सय ७६ बालिकालाई नाइजेरियाको चिबोक शहरबाट बोको हरामका लडाकुले अपहरण गरेका थिए । तीमध्ये ५७ बालिकाको उद्धार गरिएको थियो । बाँकी दुई सय १९ जना स्कुले बालिकाको अझै अत्तोपत्तो छैन । अपहरणमा परेका बालिकाको अवस्थाबारे बोको हरामले कुनै प्रतिक्रिया दिएको छैन ।
Post a Comment