Home » » जेलमा रहेका अन्डरवर्ल्ड डनलाई आत्महत्या गर्न दबाब

जेलमा रहेका अन्डरवर्ल्ड डनलाई आत्महत्या गर्न दबाब

Written By Unknown on Sunday, August 16, 2015 | 6:09 AM

श्रावण ३१ 
भारतको जेलमा रहेका अन्डरवर्ल्ड डन अबू सालेमलाई जेल प्रशासनले आत्महत्याका लागि दबाब दिएको छ । अबू सालेमका वकिलले विशेष टाडा अदालतमा यसबारेमा उजुरी दायर गरेका छन् । सालेमका वकिल सबा कुरैशीका अनुसार जेल अधिक्षक हिरालाल जाधवले सालेममाथि आत्महत्याका लागि दबाब दिएका हुन् । सालेमलाई पछिल्ला दिनमा व्यापक मानसिक यातना दिने गरिएको पनि उजुरीमा उल्लेख छ । सालेम मुम्बई नजिकैको तलोजा जेलमा छन् । यसअघि जेल प्रशासनले सालेममाथि जेलभित्र दुर्व्यवहार, अनुशासनहीनताको आरोपमा उजुरी दायर गरेको थियो । सालेमका वकिल कुरैशीका अनुसार कारागारका अधिक्षकले सालेमलाई थुनिएको ‘अण्डा सेल’ बाहिर दुई सिपाही तैनाथ गरेका छन् । उनीहरुले सालेममाथि चौबिसै घण्टा निगरानी गर्ने र शरीरका सबै वस्त्र फुकालेर बेलाबखत खानतलासी गर्दै आएका छन् । खानतलासीका क्रममा सालेमको जीवनीमा आधारित पुस्तक ‘माइ नेम ईज अबू सालेम’ फेला परेपछि उनीमाथि मानसिक यातना दिने क्रम बढेको पनि वकिल कुरैशीले जनाएका छन् । उजुरीमा जनाइएअनुसार कारागार अधिक्षकले सालेमलाई भनेका थिए– ‘तँ किताबी डन होस् तर म वास्तविक डन हुँ, तँलाई म पागल बनाइदिन्छु या आत्महत्या गर्न बाध्य हुनेछस् ।’ जेल अधिक्षकले जेलभित्र आफूले दुई हमलाकारीलाई समेत राखेको भन्दै सालेमलाई मानसिक यातना दिएको पनि उजुरीमा उल्लेख छ । उल्लेखनीय छ, सन् १९९३ मा मुम्बईमा भएको बम काण्डमा सामेल भएको बारेमा सालेममाथि टाडा अदालतमा सुनुवाई जारी छ । नक्कली राहदानी राखेको आरोपमा उनलाई अदालतले यसअघि नै दोषी ठहर गरिसकेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC