भदौ ५

कोरियाली प्रायद्धीपमा बढ्दो तनाबकाबीच दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष अधिकारीहरु वार्तामा बसेका छन् । सीमाक्षेत्रमा अवस्थित पान्मान्जोम गाउँमा भएको वार्तामा दक्षिण कोरियाका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहाकार किम क्वाङ जिन र एकीकरण मन्त्री होङ चोङ प्यो सहभागी भएका छन् । यस्तै, उत्तर कोरियाका तर्फबाट शीर्ष अधिकारीहरु ह्वाङ प्योङ सो र किम योङ गोन वार्तामा सहभागी भएको दक्षिण कोरियाले जनाएको छ । यसअघि, सीमा क्षेत्रमा दक्षिण कोरियाले गरिरहेको प्रचारबाजी नरोकिए जबरजस्त सैन्य कारबाही गरिने उत्तर कोरियाले चेतावनी दिएको थियो । संयुक्त राष्ट्रसंघ मुख्यालयमा उत्तर कोरियाका उपराजदूत अन म्योंग हुनले पत्रकार सम्मेलन गरी सीमा क्षेत्रमा दक्षिणबाट ‘लाउडस्पीकर’मार्फत् आफ्नो देशविरुद्ध गरिएको दुस्प्रचार युद्धकै रुप रहेको’ दलील गरे । पाँच वर्षकाबीचमा केही दिनअघि सीमा क्षेत्रमा गोली हानाहान भएपछि परिस्थिति युद्धतर्फ भड्कन लागेको हो । शुक्रबार मात्र उत्तर कोरियाले आफ्ना सैनिकलाई युद्धका लागि तयार रहन निर्देशन दिएको थियो । उत्तर कोरियाको धम्कीपछि दक्षिण कोरियाले सीमा क्षेत्रबाट ४ हजार नागरिकलाई सुरक्षित स्थानमा सारेको छ । किम जोंग उनले सत्ता सम्हालेयता उत्तर कोरियाको राजनीतिक अवस्था अस्थीरझै देखिन थालेको छ भने केही समय स्थगित गरिएको अमेरिकी–दक्षिण कोरियाली सझा युद्ध अभ्यास पनि फेरि थालिएको छ ।

Post a Comment