भदौ १५

एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा कुवेतलाई नेपालले २५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा दुई सय ५० रन बनाएको हो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनील धमलाले ११ र आशिष धामीले ४ रन बनाएका थिए । १० रनको अवस्थामा पहिलो विकेट गुमाएको नेपालले ३१ रनको अवस्थामा शंकर रानालाई ८ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । आरिफ शेख र राजवीर सिंहले रनको खाता नै खोल्न नसक्दा राजु रिजालले १५ रन बनाएका थिए । पुछारमा दीपेन्द्र सिंह ऐरी र सौरभ खनालले गतिलो साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्याए । दीपेन्द्रले ८५ रन बनाए भने सौरभले पनि अर्द्धशतकीय पारी खेले । उनले ७३ रन बनाए । त्यस्तै प्रेम तामाङले २३ रन बनाए । कुवेतले ३१ रन नेपाललाई अतिरिक्त दिएको थियो । यस क्रममा वाइड बल नै ३० थियो भने एक लेगबाइ थियो । यस हिसाबमा कुवेतले पाँच ओभर अतिरिक्त बलिङ गर्नु परेको थियो । यतिमात्र होइन, कुवेतले बलिङमा आफ्ना नौ खेलाडीलाई प्रयोग गरेको थियो । कुवेतका लागि मोहम्मद फौजीले तीन विकेट लिए भने शाहरुख कुद्दुजले दुई तथा अब्दुल तुफेल र अर्श बर्कत अलीले एक–एक विकेट लिए ।
Post a Comment