भदौ १५
उन्नास वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी भएको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले कुवेतलाई ८३ रनले हराएको हो । दुई सय ५१ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ६७ रनमा समेटिएपछि नेपाल विजयी भएको हो । नेपालका प्रेम तामाङ र सुशील कँडेलले दुई दुई विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । कुवेतका मोहम्मद मेजन अलीले सर्वाधिक ८४, मुश्ताक अहमदले २२, एलेन थोमस र बिलाल ताहिरले समान १३ तथा नोमन बुड्रुले १२ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५० रन बनायो । ६६ रन बनाउँदा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी र सौरभ खनालले सातौं विकेटका लागि एक सय ३० रनको साझेदारी गरेका थिए । नेपालका लागि ऐरीले सर्वाधिक ८५, सौरभ खनालले ७३ र प्रेम तामाङले नटआउट २३ रनको योजना दिए । यस्तै कप्तान राजु रिजालले १५, सुनिल धमलाले ११, शंकर रानाले ८ तथा आषिश धामीले चार रन बनाए । आरिफ शेख र राविर सिंह रनको खाता नै नखोली आउट भए । कुवेतका मोहम्मद फौजीले तीन र शाहरुख कुडासले दुई विकेट लिए । यसअघि खेलेका तीन खेल मध्ये दुईमा जित र एकमा हार बेहोरेको थियो । कुवेतमाथिको जितसँगै नेपालले शीर्ष तीनमा रहँदै १९ वर्षमुनिको एसिया कपमा सहभागिता जनाउने सम्भावना बलियो भएको छ । चार खेल सकिँदा नेपाल ६ अंक सहित दोस्रो स्थानमा छ भने समान ६ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चार खेल नै जितेर ८ अंक जोडेको अफगानिस्तान पहिलो स्थानमा छ । नेपालले बिहीबार साउदी अरेयिबासँग खेल्नेछ ।

Post a Comment