भदौ १५

नेपाली कांग्रेसले नयाँ संविधानको विधेयकमा संशोधन दर्ता गराउने विषय टुंगो लगाउन कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मुख्य सचेतक चिनकाजी श्रेष्ठको संयोजकत्वमा रमेश लेखक र आनन्दप्रसाद ढुंगाना सदस्य रहेको कार्यदल बनाएको हो । कार्यदलले एमाले र एकीकृत माओवादीसँगको बैठकमा प्रस्ताव गर्नेगरी संशोधन दर्ता गराउने विषय टुग्याउने कांग्रेसले जनाएको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले १२ वटा विषयमा संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तावना, राजनीतकि दलको थ्रेसहोल्ड, संवैधानिक निकायका प्रमुखको संसदीय सुनुवाई, धर्म लगायतका विषयमा संशोधन दर्ता गराउने तयारी छ । तीन ठुला दलले संयुक्त रुपमा संशोधन दर्ता गराउने निर्णय गरेका छन् । बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले आउँदो असोजभित्र महाधिवेशन गर्न नसकिने भएकाले एमाले माओवादीसंग संविधान संशोधनको प्रस्ताव गर्ने जानकारी गराउनुभएको थियो ।
Post a Comment