तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्यु स्थानीय प्रशासनले खुकुलो पार्दै लगेको छ । जनजीवन सहज बनाउन स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै लगेको हो । भदौ १४ गतेदेखि कर्फ्यु लाग्दै आएको वीरगन्जमा आज बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ । वीरगन्जमा दंगाग्रस्त क्षेत्र भने कायमै छ । ९ दिनदेखि कर्फ्यु लाग्दै आएको महोत्तरी सदरमुकाम जलेश्वरमा पनि स्थानीय प्रशासनले आज बिहान ६ देखि १ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ । उता सिरहामा स्थानीय प्रशासनले कर्फ्यु हटाए पनि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि दंगाग्रस्त क्षेत्र कायमै राखेको छ । उता, कैलालीको धनगढी र टीकापुरमा स्थानीय प्रशासनले आज कर्फ्यु जारी गरेको छ । धनगढीमा दिउँसो १२ देखि ३ बजेसम्म कर्फ्यु जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १२ सम्म कर्फ्यु खुकुलो पारिएको छ । स्थानीय प्रशासनले कैलालीको धनगढीमा ८ गतेदेखि र टीकापुरमा ७ गतेदेखि लगातार कर्फ्यु लगाउँदै आएको छ ।
यसैबीच ३८ दिनदेखि नवलपरासीको सदरमुकाम परासीसहित दक्षिणी भेग ठप्प छ । मधेस केन्द्रीत दलको बन्दका कारण यातायात नचल्दा तथा स्थानीय प्रशासनले निषेधाज्ञा नहटाउंँदा जिल्लाको जनजीवन प्रभावित बनेको हो । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ भने थरुहट संघर्ष समितिले गरेको बन्द साउन २६ गतेदेखि जारी छ । मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायका जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यस्तै थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायतका जिल्ला प्रभावित छन् ।
Post a Comment