
आउँदो आइतबार संविधान जारी हुने ऐतिहासिक दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाइने भएको छ । आइतबार बेलुकी ५ बजे बस्ने संविधानसभा बैठकमा राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर संविधान घोषणा गर्नुहुनेछ । संविधान घोषणा हुने विशेष समारोहमा बिभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र प्रतिनिधि पनि सहभागी हुने सरकारले जनाएको छ । आइतबार र सोमबार दुई दिन सरकारले सार्वजनिक बिदा दिने तयारी पनि गरेको छ । हिजो संविधानसभाबाट संविधान पारित गरे लगत्तै प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र शीर्ष नेताहरुले यो सबै नेपाली नागरिकको जित भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले संविधान घोषणा हुने दिन आइतबार घरघरमा दीपावली गर्न पनि सबैसँग आग्रह गरेका छन् । आज संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको सभापतित्वमा गठित समितिले शुद्धाशुद्धी र भाषा हेर्नेछ । शुद्धाशुद्धी र भाषा मिलाउनुपर्ने भए सभासदहरुले आज बिहान ११ बजेसम्म समितिलाई जानकारी गराउनुपर्नेछ । थपघट गर्नुपर्ने भए समितिले दिउँसो ३ बजेसम्म सभाध्यक्षलाई जानकारी गराएर शुद्धाशुद्धी र भाषा मिलाउनेछ । हिजो पारित भएको संविधानको विधेयकमा सभासद्बाट हस्ताक्षरका लागि भोलि बिहान ९ गतेदेखि दिउँसो १ बजे संविधानसभा भवन बानेश्वरको लोत्से सभाकक्षमा व्यवस्था मिलाइएको छ । नेपाली कागजका छापिएका संविधानका पाँचप्रति सबैमा सबै सभासद्ले हस्ताक्षर गरेपछि संविधानसभा अध्यक्षले प्रामाणिकरण गनुहुनेछ । पाँचवटै कपीको एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागु भएको घोषणा गर्ने नियमावलीको प्रावधान छ ।
‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ माथिको दफावार छलफल हिजो सकिएसँगै संविधान लेखनका अरु चरण पुरा गरी आउँदो असोज ३ गते आइतबार नयाँ संविधान घोषणा हुने कार्यक्रम तय भएको हो । राष्ट्रपतिले संविधान सार्वजनिक गरेपछि नेपालको अन्तरिम संविधान, २०६३ खारेज हुन्छ र त्यतिखेरदेखि नै नयाँ संविधान जारी हुन्छ । लामो समयसम्म सङ्घीयता, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीको बहसमा अल्झिएका मुख्य दलहरू वैशाख १२ को भूकम्पपछि गत जेठ २५ गते १६ बुँदे सहमति गर्दै संविधान निर्माण प्रक्रियामा अघि बढेका थिए । १६ बुँदे सहमतिको हस्ताक्षरकर्ता मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहित मधेस केन्द्रित सबै दल सीमाङ्कनको विषयमा असन्तुष्टी जनाउँदै प्रक्रियाबाट बाहिरिएका छन् । आन्दोलनरत दलका माग संविधान संशोधन गरेर सम्बोधन गर्ने प्रमुख दलका शीर्ष नेताले प्रतिबद्धता जनाएका छन् । झण्डै छ दशक लामो नेपाली नागरिकको आफ्ना लागि संविधान आफै लेख्ने सपना पूरा हुन लागेको हो ।
Post a Comment