भदौ १७
सभामुख सुवास नेम्वाङले देशका विभिन्न स्थानमा भइरहेका आन्दोलन, तराईको सुख्खा क्षेत्र र हज कमिटी विवादको अवस्थाबारे संसदलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । व्यवस्थापिका संसदको विहीबार बसेको बैठकमा सांसदहरुले आन्दोलनमा सरकारले ज्यादती गरेको, तराईको सुख्खा क्षेत्रप्रति सरकार मौन बसेको र हज कमिटी सधैं विवादमा पर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि सभामुखले गृहमन्त्री बामदेव गौतम र सिँचाइमन्त्री एनपी साउदलाई जवाफ दिन निर्देशन दिएका हुन् । प्रभु साह, नगेन्द्रप्रसाद थारु, रामदुलारी चौधरी लगायतका सांसदहरुले संघीय सीमांकनको विषयलाई लिएर मुलुकका विभिन्न भागमा भैरहेका आन्दोलनलाई दमन गरेको आरोप लगाएका थिए । बैठकको सुरुमै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चिकित्सा क्षेत्रमा भएको भष्ट्राचारलाई लिएर सन्चारमाध्यममा आएको समाचारका सम्बन्धमा एक संसदीय समिति गठन गरी छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका थिए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहोरा र मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चिकित्सा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग माग गरेका थिए ।
Post a Comment