Latest Updates!

Breaking: गड्यौलीमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु

Written By Unknown on Tuesday, May 31, 2016 | 7:54 PM

जेठ १९, गड्यौली । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी चितवनको राप्ती नगरपालिका गड्यौलीमा केहि बेर अघि सवारी दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । पुर्व बाट पश्चितर्फ आउदै गरेको ना ३ त ३५५७ नं. को ट्रयाक्टरलाई सोहि दिशाबाट आउदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिदाँ ट्रयाक्टरमा सवार एक मजदुरको घटनास्थलमै ज्यान गएको हो । उनको नाम ठेगाना खुल्न बाँकि छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरीको अनुसन्धान जारी छ । थप बिबरण आउन बाँकी छ । दुर्घटना बिहान ८ बजेर २० मिनेट जाँदा भएको हो । 

हाजिपुर र सयपत्री टोल बालश्रममुक्त

जेठ १८, रत्ननगर । रत्ननगर नगरपालिकाका थप दुई वटा टोललाई वालश्रम मुक्त घोषणा गरिएको छ । रत्ननगर वडा नम्वर ३ मा रहेका हाजिपुर र सयपत्री टोललाई मंगलवार वालश्रम मुक्त टोल घोषणा गरिएको हो । यो संगै रत्ननगरमा वालश्रम मुक्त हुने टोलको संख्या ४ पुगेको छ । हाजीपुर र सयपत्री टोल विकास संस्थाले मंगलवार आयोजना गरेको एक कार्यक्रमकाबीच स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेलले दुई वटा टोल विकास संस्थाका अध्यक्षहरुलाई वालश्रम मुक्त घोषणा गरेको प्रमाण पत्र प्रदान गरेर श्रम मुक्त रहेको घोषणा गरियो । हाजिपुरमा ३५ र सयपत्री टोलमा ४९ जना वालवालिका रहेका छन् भने उनीहरु कुनै पनि काममा सलग्न छैनन् । सो अवसरमा स्थानिय विकास अधिकारी पोखरेलले वालवालिका रहरले श्रमिक नवन्ने भन्दै वालमैत्री स्थानिय शासनको प्रर्वद्धन गर्न सवै लाग्नु पर्ने वताए । उनले सार्वजनिक निर्णयमा वालवालिकाको सहभागीता अनिवार्य हुनु पर्ने औल्याए । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले घोषणा गर्नु ठुलो कुरा होईन भन्दै टिकाई राख्नु महत्वपुर्ण हुने वताए । युनिसेफ नेपालका वालसंरक्षण अधिकृत अन्जु आचार्यले घोषणा वालश्रममा होमिएका भए नभएको अनुगमन गर्नु पर्ने वताईन् । हाजिपुर टोल विकास संस्थाका अध्यक्ष शम्भुभक्त थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुराल ,नेपाली काग्रेशका सोहेन्द्र राज खरेल,वाल क्लवकी अध्यक्ष शितल पराजुली,वालमैत्री स्थानिय शासन कार्यक्रमका सदस्य निरज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । यसअघि रत्ननगर ८ को शान्ति टोल र ९ नम्वर वडाको शान्तिकुञ्ज टोल वालश्रम मुक्त घोषणा गरिसकेको छ भने विहीवार र शुक्रवार थप दुई वटा टोल घोषणाको तयारीमा छन् । 

रत्ननगरका फार्मेसीहरु अनुगमन

जेठ १८, रत्ननगर । पुर्वी चितवनको रत्ननगर क्षेत्रमा रहेको फार्मेसीहरुको आज अनुगमन गरिएको छ। ईलाका प्रहरी कार्यालय रत्ननगरले पत्रकारहरुको रोहवरमा रत्ननगर क्षेत्रको एक दर्जन भन्दा बढी फार्मेसीको अनुगमन गरेको हो ।अनुगमनको क्रममा केही फार्मेसीहरुले औषधि व्यवस्था बिभागको अनुमतिपत्र नवीकरण नगरेको ,सम्बन्धि इजाजत प्राप्त व्यक्ति बाहेक अन्यले औषधि बिक्रीवितरण गरेको पाइएको प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।अनुगमन टोलिले रत्ननगरको नुतन फार्मेसी ,टाडी पन्चकन्या पोलिक्लिनिक,संगीता फार्मेसी लगायतको फार्मेसीहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा अनुमतिपत्र नवीकरण नगरेको २ जना र ल्याब संचालनको अनुमति नलिएको १ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई सम्बन्धित व्यक्तिले मात्रै औषधि बिक्री गर्न निर्देशन दिइएको ईलाका प्रहरी कार्यालय रत्ननगरको प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।नियन्त्रणमा लिइएकालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खोलेसिमलका तीन बिद्यार्थी एक महिनादेखि बेपत्ता

जेठ १८, खोलेसिमल । कालिका नगरपालिका – ७ खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७ गते शुक्रबार आ–आफ्नो घरबाट स्कुल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज गुरुङ्ग एकै कक्षाका दौतरी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज गुरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेख बहादुर गुरुङ्गले बताए । दुई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ ।  

बादु चेपाङलाई बृद्धाश्रममा आश्रय

Written By Unknown on Thursday, May 26, 2016 | 6:56 AM

जेठ १३, रत्ननगर । लामो समय देखि ओढारमा कष्टकर जीवन विताई रहेका मकवानपुर जिल्लाको पहाडी गाविस खैराङ ८ राजाराङका बादु चेपाङलाई वृद्धा आश्रममा आश्रय दिईएको छ । रत्ननगरको असहाय वृद्ध कल्याण समाजले ८० बर्षीय बादुलाई आश्रय दिएको हो । पाँच महिला अधि गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले ओढारबाट मुक्त गरी बादुलाई रत्ननगर ल्याएका थिए । केही महिना चितवन मावन सेवा आश्रममा बसेका बादुलाई विहीवार असहाय वृद्ध कल्याण समाजमा ल्याईएको हो । समाजका अध्यक्ष तिलक शर्मा पौडेलले बादुलाई बाचुन्जेल संरक्षण दिने बताउनुभयो । कार्यक्रममा गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले महाभारत पर्वत सृङखलाको जंगली ओढारमा कष्टकर जीवन विताईरहेका वृद्धवृद्धा चेपाङहरुलाई आश्रममा ल्याउने योजना रहेको बताउनुभयो । समाजका अध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजकी संरक्षण निरकला शर्मा,सचिव प्रकाशवावु खनाल,स्काइराइडर आवासीय उच्च माविका अध्यक्ष दुर्गा पुरी,नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी लगायतले वोलेका थिए । 

नेतृत्व बिकास तालिम सकियो

जेठ १३, रत्ननगर । रत्ननगर ४ देवौलीमा आयोजना गरिएको तीन दिने महिला सशक्तिकरण र नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्वन्धी तालिम विहीवार सकिएको छ । रत्ननगर नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्र्तगत उपभोक्ता समितिले आयोजना गरेको सो तालिममा टोल विकास संस्था,वडा नागरिक मञ्चका ४९ जना महिलाहरु सहभागिता रहेको थियो । तालिममा श्रम नेपालकी कार्यकारी निर्देशक सुर्यवदना हमाल र वडा नागरिक मञ्चकी संयोजक ज्वाल बनले सहजीकरण गरेका थिए । तालिमको पहिलो दिन नेतृत्व विकास,दोश्रो दिन प्रस्तावन लेखन र तेश्रो दिन प्रस्तुतिकरण र प्रतिवेदन लेखनको वारेमा सिकाईएको मञ्चकी संयोजक वनले जानकारी दिईन । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

अन्तर बिद्यालय शिक्षक हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

जेठ १३, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवअन्तर्गत भइरहेको साताब्यापी कार्यक्रममा आज अन्तर बिद्यालय स्तरिय शिक्षक  हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल उच्च माविको हलमा सम्पन्न प्रतियोगितामा रत्ननगर क्षेत्रका विभिन्न ८ बिद्यालयको सहभागिता रहेको थियो । निकै रोमाञ्चक र उदाहारणीय बनेको प्रतियोगितामा पञ्चकन्या बिद्या मन्दिर र.न.पा. २ टाँडिले प्रथम स्थान हासिल गर्न सफल भएका छन । त्यस्तै पीस भिजन ई. बोर्डिङ स्कुल र.न.पा. ११ जिरौना र अन्नपुर्ण शिशु निकेतन र.न.पा. २ टाँडि क्रमश द्धितिय र तृतिय हुन सफल भएका छन । बिजेता बिद्यालय हरुलाई जेठ १५ गते भन्य समारोहकाबीच पुरस्कार बितरण गरिने एफएमले जनाएको छ । प्रतियोगितामा सहभागि सम्पुर्ण टीमले हालसम्मकै फरक कार्यक्रम गरेकोमा रिलेशन एफएमलाई धन्यवाद दिएका थिए । सधै पाठ्यक्रममा आधारित रहेर अध्ययन गरिने हुदाँ बाहिरी ज्ञान खासै नहुने भए तापनि प्रतियोगितामा अत्यन्तै रमाइलो अनुभव गरेको सहभागि बिद्यालय बुद्धज्योति ई बोर्डिङ स्कुलका शिक्षक सुशिल मुखियाले बताउनुभयो । कार्यक्रममा सहभागि सबै बिद्यालयका शिक्षकहरुले एफएमको यस्तो कार्यक्रमले आफुहरु अत्यन्तै उत्साहित भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरे । 
एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न भएको प्रतियोगिता क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिशचन्द्र शर्माले सञ्चालन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका शर्माले यस्ता कार्यक्रमले सधै पाठ्यवस्तुमा केन्द्रित हुने शिक्षकहरुलाई बाहिरी ज्ञान लिन समेत प्रोत्साहन दिने बताउनुभयो । उहाँले रिलेशन एफएमले प्रथम बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना समेत ब्यक्त गर्नुभयो ।  प्रतियोगितामा एफएमका अध्यक्ष अधिकारीले केहि भिन्न थालनी गर्नकै लागि शिक्षक शिक्षक बीच प्रतियोगिता राखिएको बताउनुभयो । त्यस्तै एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले शिक्षकहरुको उत्साहजनक उपस्थितीले आफुहरुलाई उर्जा मिलेको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिरहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा एफएमका कार्यक्रम प्रस्तोता राजन दिल गूरुङले सहजीकरण गर्नुभएको थियो । 
साताब्यापी कार्यक्रमअन्तर्गत भोली खुल्ला गजल प्रतियोगिता र र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता हुदैछ । भोलि बिहान एफएम परिसरमा सञ्चालन हुने गजल प्रतियोगितामा प्रतियोगिहरुको उल्लेख्य सहभागि रहने कार्यक्रमको संयोजक राज प्रणयले बताउनुभयो । एफएमले यहि जेठ १५ गते बृहत सांस्कृतिक कार्यक्रमका साथ आफ्नो पहिलो बार्षिकोत्सव मनाउदैछ । एफएम गत बर्ष जेठ १५ गतेबा प्रसारणमा आएको हो ।  

Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC